बालमैत्री वडा घोषणा गर्दै उत्कृष्ट सेवा प्रवाह गरेपछि वडा अध्यक्ष टुकराज अधिकारी सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालमैत्री वडा घोषणा गर्दै उत्कृष्ट सेवा प्रवाह गरेपछि वडा अध्यक्ष टुकराज अधिकारी सम्मानित

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    दमौली,१२ साउन । म्याग्दे गाउँपालिका–३ का वडा अध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक टुकराज अधिकारी उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका छन् ।

    आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा सोमबार उनलाई दोसल्ला, सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।

    वडा नं. ३ लाई गाउँपालिकामै पहिलो बालमैत्री वडा घोषणा गराउन सफल भएको, नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रवाह गरेको तथा वडाको समग्र विकासमा प्रभावकारी नेतृत्व प्रदान गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

    गाउँपालिकाका अनुसार वडा नं. ३ ले बालअधिकार संरक्षण, बालमैत्री स्थानीय शासन, शिक्षा, सरसफाइ, स्वास्थ्य, बाल सहभागिता तथा सुरक्षित वातावरण निर्माणका सूचकहरू पूरा गर्दै गाउँपालिकामै पहिलो बालमैत्री वडा घोषणा गर्ने सफलता हासिल गरेको हो। यस उपलब्धिले अन्य वडालाई पनि बालमैत्री स्थानीय शासनको अभियानमा सक्रिय रूपमा अघि बढ्न प्रेरणा दिएको छ।

    वडा अध्यक्ष अधिकारीले निर्वाचित भएदेखि नै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विकास निर्माण, सामाजिक उत्तरदायित्व र जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्दै आएका छन्। वडावासीका गुनासा तत्काल सम्बोधन गर्ने, विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने कार्यशैलीका कारण उनी नागरिकमाझ लोकप्रिय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।