जग्गा तयार, प्रक्रिया पूरा तर बजेट अभावमा रोकियो आँबुखैरेनी ट्रमा अस्पताल निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जग्गा तयार, प्रक्रिया पूरा तर बजेट अभावमा रोकियो आँबुखैरेनी ट्रमा अस्पताल निर्माण

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    दमाैली १२ साउन । आँबुखैरेनी गाउँपालिकाले प्रस्तावित ट्रमा अस्पताल निर्माणका लागि आवश्यक सार्वजनिक जग्गा प्राप्त गरी आफ्नो तर्फबाट पूरा गर्नुपर्ने सबै कानुनी तथा प्रशासनिक प्रक्रिया एक वर्षअघि नै सम्पन्न गरेको भए पनि बजेट अभावका कारण निर्माण कार्य अझै अघि बढ्न सकेको छैन।

    गाउँपालिकाले ट्रमा अस्पताल निर्माणका लागि आवश्यक सार्वजनिक जग्गाको व्यवस्थापन गरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ साल असार १० गतेको निर्णय बमोजिम उक्त जग्गाको भोगाधिकार प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ। यससँगै स्थानीय तहबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

    अब ट्रमा अस्पताल निर्माण अघि बढाउन संघीय सरकारबाट आवश्यक बजेट सुनिश्चित हुनुपर्ने अवस्था रहेको छ। तर हालसम्म बजेट विनियोजन हुन नसक्दा महत्वाकांक्षी परियोजना अलपत्र परेको छ।

    आँबुखैरेनी पृथ्वी राजमार्गको अत्यन्त व्यस्त र दुर्घटनाको उच्च जोखिम रहेको क्षेत्र भएकाले यहाँ ट्रमा अस्पताल निर्माणको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको छ। स्थानीयवासीले अस्पताल निर्माणले सडक दुर्घटनाका घाइतेको तत्काल उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आएका छन्।

    यता, यस क्षेत्रबाट नै हाल अर्थमन्त्री र राष्ट्रपति जस्ता मुलुकका उच्च पदमा नेतृत्व पुगेको अवस्थामा पनि ट्रमा अस्पताल निर्माणले अपेक्षित प्राथमिकता र गति लिन नसकेको भन्दै स्थानीय तह तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

    स्थानीयवासी तथा जनप्रतिनिधिहरूले अब सम्बन्धित सबै पक्षले ट्रमा अस्पताल निर्माणलाई उच्च प्राथमिकतामा राखी संघीय सरकारबाट आवश्यक बजेट सुनिश्चित गर्न सक्रिय पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूको भनाइमा स्थानीय तहले आफ्नो जिम्मेवारी पूरा गरिसकेको अवस्थामा अब परियोजनालाई कार्यान्वयनमा लैजान संघीय सरकारको प्रभावकारी भूमिका अपरिहार्य छ।