


दमौली, १५ साउन । जेसीआई व्यासनगरको आयोजनामा सञ्चालन हुन लागेको बहुप्रतिक्षित बाल प्रतिभा प्रतियोगिता ‘व्यासनगर साइनिङ स्टार २०२६, सिजन–११’ को अडिसन चरण छिट्टै सुरु हुने भएको छ।
जेसीआई व्यासनगरका अध्यक्ष जेसी अजर नागिलाले यस प्रतियोगिता बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै यस वर्षको संस्करणलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गरिने जानकारी दिए । उनले अभिभावक, विद्यालय तथा प्रतिभावान बालबालिकालाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरे ।
कार्यक्रमका मूल कार्यक्रम संयोजक जेसी सुनिल श्रेष्ठका अनुसार अडिसनको मिति, स्थान तथा आवेदन प्रक्रियाबारे विस्तृत जानकारी केही दिनमै सार्वजनिक गरिनेछ। ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले गायन, नृत्य, अभिनय, वाद्यवादन तथा अन्य सिर्जनात्मक प्रतिभामार्फत प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
आयोजकका अनुसार ‘व्यासनगर साइनिङ स्टार २०२६, सिजन–११’ लाई विगतका संस्करणभन्दा अझ उत्कृष्ट, व्यवस्थित र स्मरणीय बनाउने तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।