


दमौली, १५ साउन । नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँले शुक्रबार शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
समितिको आयोजनामा क्याम्पस परिसरमा एक सय वटा आँप र लिचीका बिरुवा रोपिएको समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ र हराभरा वातावरण हस्तान्तरण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो। रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि विशेष ध्यान दिइने उनले बताए।
कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, क्याम्पसका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न तथा भविष्यमा फलफूल उत्पादनमार्फत शैक्षिक संस्थालाई समेत लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।