तनहुँ/विभिन्न अपराधमा जिल्ला अदालतबाट दाेषी ठहर भई फरार रहेका प्रतिवादी विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले विशेष अभियान चलाएकाे छ । हालैमात्र सरुवा भई आउनुभएका प्रहरी उपरिक्षक अरुण पाैडेलले पत्रकार सम्मेलनका क्रममा फरार प्रतिवादी पक्राउ गर्नेतर्फ विशेष ध्यान हुने बताउनुभएकाे थियाे । लगत्तै प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गर्न थालेकाे छ ।
यसैक्रममा आइतबार मात्रै प्रहरीले तीन जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बहुविवाह, चाेरी र सवारी ज्यान मुद्धाका फरार प्रतिवादी रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।
बहुविवाह मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका एक प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ बस्ने ३६ वर्षीया शशी थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । थापालाई आइतबार निजकै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । बहुविवाह मुद्दामा जिल्ला अदालत तनहुँले थापालाई विसं २०६२ भदौ २५ गते एक वर्ष कैद र रु दश हजार जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका थापालाई आज नै अदालत पेश गरिएकामा अदालतको आदेश अनुसार बाँकी रहेको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यसैगरी लागुऔषध मुद्दामा फरार प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–२ ढकालटार बस्ने २२ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई जिल्ला अदालत तनहँुले विसं २०६३ असोज ६ गते १० महीना २५ दिन कैद र रु दश हजार जरीवानाको फैसला सुनाएको थियो ।
निजलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । निजलाई पनि जिल्ला अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
त्यसैगरी प्रहरीले चोरी उद्योग मुद्दामा कैद भुक्तान गर्न एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–४ बस्ने ४५ वर्षीय मनबहादुर आले रहेका छन् । जामुनेस्थित बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा सुरक्षाकर्मीको रुपमा कार्यरत आलेले सहकारीको चाबी फोडेर चोरी गर्ने प्रयास गरेका थिए ।
चोरी उद्योग मुद्दामा तत्काल धरौटी राखी छुटेका आले विरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ पुस २९ गते एक वर्ष कैद र रु दश हजार जरीवानाको फैसला सुनाएको थियो । तोकिएको कैदबाट ११ महिना ११ दिन कैद तथा जरीवाना भुक्तान गर्न बाँकी रहेकाले पक्राउ परेका आलेलाई कैद भुक्तानका लागि कारागारा चलान गरिएको छ ।
यस्तै प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका–२ बस्ने ५२ वर्र्षीय उदयराज खनाललाई २४ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतको विसं २०५३ भदौ २४ गतेको फैसला अनुसार खनाललाई ७ दिन कैद फैसला भएको थियो । निज बाँकी रहेको कैद भुक्तान नगरी फरार रहेकाले घरबाटै पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध मुद्दाका प्रतिवादी आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय युवराज गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका प्रतिवादीको खोजीकार्यमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।