गाउँपालिकाले दियाे युवालाई ऋण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    गाउँपालिकाले दियाे युवालाई ऋण

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, सोमबार

    तनहुँ/तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा रु ८० लाख ऋण प्रवाह गरेको छ । गाउँपालिकाले रोजगारीका लागि ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ ।

    व्यवसाय गर्न चाहने तर पैसाको अभाव भएका उद्यमी छनौट गरी उनीहरुलाई ६ प्रतिशत व्याजमा ऋण लगानी गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाका पाँच वटै वडाका युवायुवती छनौट गरी सहुलियत दरमा ऋण प्रवाह गरिएको थापाले जानकारी दिनुभयो ।

    “हातमा सीप भएका तर रकम अभावमा व्यवसाय गर्न नसकेका व्यक्ति छनौटका लागि वडामार्फत् सिफारिस भएर आएपछि ऋण प्रवाह गरेका हौ,” उहाँले भन्नुभयो, “यसले गर्दा उनीहरुलाई उद्यमी बन्न सहयोग पु¥याएको छ ।” थापाका अनुसार गाउँपालिकाबाट ऋण लिएकाहरुले तरकारी खेती, पशुपालन, किराना पसल लगायतका व्यवसाय गरेका छन् । ऋण लिएपछि सदुपयोग भए÷नभएको बारेमा पनि अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

    सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि गाउँपालिकाले ऋण समिति बनाएको छ । सोही समितिले मूल्याङ्कनमा आधारमा ऋण प्रवाह गर्नेछ । यसरी ऋण लिएकाहरुले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । “ऋण लिन चाहनेहरुलाई लक्षित गरी वडाबाट फारम सङ्कलन गरिएको थियो, वडाध्यक्षले सिफारिस गरेर पठाएकाहरुलाई ऋण प्रवाह गरेका हौ,” उहाँले भन्नुभयो ।

    गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भने यो कार्यक्रम सञ्चालन गर्न नसक्ने भएको छ । बजेट अभाव भएका कारण आगामी आर्थिक वर्ष ०७७/७८ मा उक्त कार्यक्रम समावेश गर्न नसकिएको थापाले जानकारी दिनुभयो । युवा स्वरोजगार कोष कार्यक्रम अन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा चितवन उद्योग वाणिज्य सङ्घको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोगमा ४५ जना उद्यमीलाई उद्यमशीलता तालीम सञ्चालन गरेको थियो ।