अभिषाप बन्दै गाउँ–गाउँमा खनिएका सडक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    अभिषाप बन्दै गाउँ–गाउँमा खनिएका सडक

    विनोद ढुंगाना

    ४ श्रावण २०७७, सोमबार

     

    • असार २८ गते राति १२ बजेतिर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलेमा खसेको पहिरोले घर पुरिँदा आम्बबहादुर थापाले परिवारका पाँच जना सदस्य गुमाउनुभयो । घरमाथिको सडक छेउबाट खसेको पहिरोले उहाँका दुई छोरा, दुई बुहारी र एक नातिनीलाई पुर्दा मुत्यु भएको हो । त्यहीपहिरोले अहिले बस्तीलाई समेत धरापमा परेको छ ।

     

     

    • असार २९ गते बिहानपख भीषणबर्षा भएपछि व्यास नगरपालिका–११ ओडारेमा अस्तबहादुर भुजेल चेपाङको घरमाथिको सडकबाट झरेको पानीको भलले जोखिम भएपछि भल तर्काउन दाजु पदम भुजेल चेपाङलाई गुहार्नुभयो । भाईको घर जोगाउन जानुभएका ५२ वर्षीय पदमले भाईबुहारीलाई त बचाउनुभयो । तर, आफू मरेर । सडकभन्दा माथिबाट एक्कासी पहिरो खसरे गल्र्यामगुर्लुम घर ढल्यो । घरले पुरिएर पदमलाई पनि लडायो । सायद त्यहाँ सडक हुँदैन थियो भनेन अस्तबहादुरको घरलाई नै जोखिममापार्ने गरी पानीको भल खस्थ्यो, न त पदमको ज्यान नै जान्थ्यो ।

     

     

    • असार २८गतेराति परेको भीषण वर्षापछिको पहिरोले म्याग्दे गाउँपालिका–२ नयाँगाउँमा १२ घर र पिपलडिहीमा ७ घर विस्थापितभएका छन् । सयौँ रोपनी खेतीयोग्यजग्गापुरिएको छ । बस्तीमाखनिएका सडकले नै घरखेत सबै तहसनहस बनाईदियो । यस्तै, शुक्लागण्डकी नगरपालिका–६ दरगाउँमा धनबहादुर क्षेत्रीको घर झिसमिसेमै ढल्यो । घरमात्रै होईन जिउने आधार पनि ढल्यो धनबहादुरको । कारण थियो, सडक । घरमाथि पनि तलपट्टी पनि सडक खनिएको छ ।

     

    यी त केही उदाहरण मात्रै हुन । अघिल्लो साता परेको वर्षाले यहाँकाथुप्रै बस्तीमा सडकबाट पहिरो खसेर घर लडाएको छ । बस्ती नैजोखिममापारेको छ । डाँडाकाडाँ छियाछिया देखिएको छ ।

    सडक खनिएका अधिकांश स्थानमा यो वर्ष पहिरो खसेको म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताउनुभयो । “सडक नखनेका गोरोटो बाटो भएका डाडाँहरुमा पहिरो खसेको छैन । जुन डाँडोमा सडक खनेका छौँ, त्यहाँपहिरो खसेको देखिन्छ,” उहाँले भन्नुभयो ।

     

    म्याग्दे गाउँपालिका–२ पिपलडिहीमा सडकका कारण खसेको पहिरो । उक्त स्थानमा ७ घर विस्थापित भएका छन् ।

     

     

    सडक विकासको प्रमुख आधार हो । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकाससँग सडक जोडिन्छ । तर, विकासका निम्ति खनिएका सडकले विनाश निम्त्याउदैछन् । अभिषाप बन्दैछन् गाउँ–गाउँलाई जोडेका सडकमार्गहरु ।

    धेरै स्थानमा प्राविधिकको सर्भे बिना नै सडक खनिन्छ । यदि प्राविधिकले सर्वेक्षण गरिहाले पनि सडक खन्ने बेलामा इञ्जिनियर त डोजरका चालक नै हुन् । अर्कोतर्फ सडक खन्दै गर्दा भित्तोतर्फ खनेर छेउमा माटो थुपारिन्छ । माटो थुप्रिएर ढिस्को बन्छ । त्यही ढिस्कोलाई वर्षाको अविरल वर्षाले गलाएर पहिरो बनाउँछ । अनि खस्छ बस्ती र खेतबारीमा ।

    जथाभावी सडक खन्दा त्यसबाट हुने क्षतिबारे अनविज्ञ हुदाँ दशकयता गाउँमा पुगेको सडक घरघरै लैजाने एक प्रकारको होडबाजी नै चलेको छ । जनप्रतिनिधीले पनि विकासमा सडकलाई नै प्राथमिकता दिएको पाईन्छ । जता पनि योजनाविहिन सडक सञ्जालले जोड्ने होडबाजीले विनाश निम्ताएको विज्ञहरु बताउँछन् । विज्ञहरु भन्छन्,“विकास जनतालाई राहत दिन गरिने हो । तर, यहाँका डोजरे विकासले आहात पु¥याएको छ ।”

    भूर्गवविद् श्रीकमलद्विवेदी धेरैजसो पहिरो सडककै कारण गएको बताउनुहुन्छ । “सडक खन्दा धेरैजसो ठाउँमा भित्तो खोतलेर ढुङ्गा माटो खोल्सीमा फाल्ने अभ्यासका कारण पहिरो गएका छन्,” उहाँले भन्नुभयो, “सडकबाट बगेको पानीको निकास नहँुदा खोल्सीमा सडक खन्दा फ्याँकेको ढुङगा माटोलाई बगाएर तल्लो बस्तीलाई पुर्ने र कटान गर्ने गरेको छ ।

    उहाँका अनुसार पहाडमा गाउँको हरेक घरमा सडक लैजान सम्भव छैन । सडक खन्दा वैज्ञानिक तरिका अपनाउनुपर्ने र जथाभाबी सडक खन्ने प्रवृत्तिको अन्तय गर्नुपर्ने उहाँले बताउनुभयो । “जथाभावी एक्साभेटर दौडाउँदा धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ पछि गएर,” उहाँले भन्नुभयो । जिम्मेवार निकायले योजनाबद्ध ढङ्गले भूगोलको सर्वेक्षण गरेर मात्र सडक खन्नुपर्नेमा उहाँको जोड छ ।

     

     

    खोलामा बस्ती पसेको हो !

     

    असार अन्तिम साता परेको वर्षाले व्यास नगरपालिकाको बुल्दीखोला, म्याग्दे गाउँपालिकाको म्याग्दे र स्याङ्दे खोला बस्तीमा पसेर तहसनहस पा¥यो । केही घर भत्किए पनि । त्यसपछि एउटा भनाईले निकै चर्चा बटुल्यो, “खोला बस्तीमा पसेको होइन, बस्ती खोलामा पसेको हो ।” यस भनाईमा सहमत हुनुहुन्छ भू तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका प्रमुख वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल ।

    “हामीले खोलोलाई कुलो बनाएका छौं । बस्ती खोलामा पसेर मिचेको देखिन्छ । प्रकृतिसँग पैठेजोरी खेलेर मानिसले जित्न सक्दैन्”, उहाँले खबरपुञ्जसँग भन्नुभयो,“सधै खोलामा बाढी आउँदैन । ठूला खोला ३० वर्षसम्म पनि फर्कन्छ । र त्यसले आफ्नो आकार लिन्छ ।” घर बनाउनेहरुले अतिक्रमण गरेर खोलामै पिल्लर ठडाएको उहाँ बताउनुहुन्छ । “निरीह खोलाको अतिक्रमण भएपनि न्याय पाउने कुरा त भएन”, पौडेल भन्नुहुन्छ, “आफ्नो आकार लिने क्रममा जे–जे भेट्छ कटान गर्छ ।”

    व्यास नगरपालिकाको बुल्दी खोलामा आएको बाढी

     

    डोजरे विकासले विनाश भईरहेको उहाँको भनाई छ । “डोजर लगाएर पहाड भत्काउने । विकासको नाममा विनाश गर्ने । न त्यहाँ वातावरणमैत्री कुरा जोडिएको छ न भूसंरक्षणमा जोड दिइन्छ”, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले थप्नुभयो, “पहाड भत्काएर खोला खोल्सातिर फ्याँक्ने गरिन्छ । त्यसो गर्दा खोलामा पानीको आयातन बढ्छ । सङ्ग्लो पानीको भन्दा धमिलो पानीको कटान क्षमताबढी हुन्छ । यसबाट धेरै क्षति हुने गरेको हो ।”

    उहाँले वैज्ञानिक तरिकाले खोला र नदीनालाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । खोलानाला अतिक्रमण रोक्न सङ्घीय सरकारले कडा नीति बनाउने तथा प्रदेश र स्थानीय सरकारले प्रभावकारी कार्यन्वयन गर्नुपर्ने उहाँको सुझाव छ ।