पर्वत। पर्वत र बागलुङ जिल्ला जोड्ने विश्वकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पर्वत जिल्लाको पाङलाई बागलुङको सदरमुकामसँग जोड्न ५ सय ६७ मिटर लामो सिङ्गल स्पान प्रविधिको झोलुङ्गे पुल निर्माण गरिएको हो ।
यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र शैक्षिक गतिविधिलाई थप सुधार एवं सहज गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनबाट बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको निर्माण गरिएको हो ।
उक्त झोलुङ्गे पूलकोे निर्माण सँगै झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढ्ने भएको छ – पदयात्री हिँड्ने संसारकै लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूल संसारकै सबैभन्दा लामो भनिएको पदयात्री हिँड्ने झोलुङ्गे पूल स्विट्जरल्याण्डको ४९४.०० मिटर लामो (Charles Kuonen Pedestrain Bridge) भन्दा ७३.०० मिटर लामो छ ।
सस्पेन्सन बृज डिभिजनले देशभरका लामा र विशिष्ट प्रकारको झोलुङ्गे पूलहरुको निर्माण गर्ने जिम्मेवारी अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । यस सस्पेन्सन बृज डिभिजनले हालसम्म निर्माण गरेको झोलुङ्गे पूल भन्दा विशिष्ट प्रकृतिको बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पूलको आफ्नै जनशक्ति मार्फत् सर्वेक्षण, डिजाइनको कार्य गरी ठेक्का व्यवस्थापन एवं निर्माण गरेको हो । उक्त झोलुङ्गे पूलको निर्माण हुनु अघिसम्म डिभिजनमा रहेको ज्ञान, सीप, अनुसन्धान, विद्यमान प्रविधि र निर्माण व्यवसायीको क्षमताको आधारमा ३५९ मिटर लम्बाईसम्मको एकल स्पानको झोलुङ्गे पूलकोे निर्माण हुँदै आएको थियो ।
दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी श्री थानी/बि.एल.टि./हिमशिखर जे.भी. सँग मिति २०७५/११/२१ मा सम्झौता भएको थियो । उक्त झोलुङ्गे पूलको शिलान्यास राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले विसं २०७६ वैशाख १ गते गर्नुभएको थियो । उक्त झोलुङ्गे पूलको निर्माण कार्यको लागि रु १२,२२,१८,९५७ लाग्ने अनुमान गरिएकोमा स्थानीय पूर्वाधार विभागबाट उपलब्ध गराईएको रु २,१८,७४,२०१ बराबरको लठ्ठा तथा बुल्डग ग्रिप्स बाहेक निर्माण कार्यको लागि निर्माण व्यवसायीसँको सम्झौता रकम भ्याट सहित रु ८,२७,०६,३८१ रहेको थियो ।
उक्त झो.पु.को निर्माणका क्रममा करिब ३५०० जना दिन प्रत्यक्ष रोजगारी सिर्जना भएको थियो । उक्त झोलुङ्गे पूलको भारबहन क्षमता एक पटकमा ६१२ पदयात्री रहेको छ । मध्यपहाडि राजमार्ग र कालीगण्डकी कोरीडोरको संगम बिन्दु मालढुंगा माथि उक्त दुवै राजमार्ग र कालीगण्डकी नदिमाथि निर्माण गरिएको उक्त झोलुङ्गे पूल बाग्लुङ सदरमुकाम र पश्चिमाञ्चल क्षेत्रको प्रसिद्ध धार्मिक क्षेत्र कालिका भगवती मन्दिर क्षेत्र नजिक रहेकोले उक्त क्षेत्रको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रमा थप योगदान पुग्ने देखिन्छ ।