चितुवाकाे आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    चितुवाकाे आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    तनहुँ । चितुवाकाे आक्रमणबाट बुधबार राति ज्यान गुमाएका तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ मसारका डेढ वर्षीय नारायण रानाका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेकाे छ । कार्यालयले पीडितकाे घरमा पुगेर बिहीबार किरिया खर्च बापत रु ५० हजार सहयाेग गरेकाे हाे ।

    उक्त रकम वन कार्यालयका प्रमुख केदार बरालले मृतकका बुबा विष्णुबहादुर रानालाई प्रदान गर्नुभयाे । मानिसकाे ज्यानकाे मूल्यभन्दा पैसा ठूलाे नभएपनि राज्य जनताकाे साथमा छ भन्ने अनुभूति गराउन राहत रकम उपलब्ध गराउने नीति रहेकाे बरालले जानकारी दिनुभयाे । उहाँका अनुसार मृतकका परिवारलाई थप रु ९ लाख ५० हजार प्रदान गरिनेछ ।

    जिल्लामा चितुवाको आक्रमणका घटना सबै साँझको समयमा भएकाले त्यसबेला विशेष सतर्कता अपनाउनुपर्ने बरालको सुझाव छ । “रातको समयमा बालबालिकालाई घरबाहिर एक्लै छाड्न हुँदैन, घर वरपरका झाडी सफा राख्ने, घरबाहिर उज्ज्यालो राख्नुपर्छ,” बरालले भन्नुभयो । बरालका अनुसार एक पटक चितुवाले आक्रमण गरेपछि उक्त चितुवा तीन/चार दिन सोही ठाउँ वरपर घुम्ने गरेको छ ।

    पीडित परिवारलाई सान्त्वना दिन पुग्नुभएका शुक्लागण्डकी नगरपालिकाका प्रमुख, डिभिजन वन प्रमुख लगायत

    पीडितलाई सान्त्वना दिन पुग्नुभएका शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले यस्ता घटना दोहोरिन नदिन सबै सतर्क हुनुपर्ने बताउनुभयो । पीडित परिवारलाई नगरपालिकाको तर्फबाट सहयोग गरिने बताउँदै उहाँले भन्नुभयो, “जङ्गलका बीचमा भएका घरहरुमा चितुवाको बढी जोखिम देखिएको छ, रातिको समयमा बच्चालाई एक्लै नछाड्ने, घर बाहिर बत्ती राख्ने लगायतका काम गर्नुपर्ने देखिएको छ ।

    यही घरकाे पिढीबाटै बालकलाई चितुवाले आक्रमण गरेर लगेकाे थियाे