तनहुँ । तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सवारी चालक लगायत ४४ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गइरहेकाले जोखिममा रहेका जनप्रतिनिधि, कर्मचारी, सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी, सवारी चालक लगायतको स्वाब सङ्कलन गरिएको हो ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, प्राविधिक, लेखा शाखाका कर्मचारी, योजना शाखाका कर्मचारी, सरसफाईमा खटिने कर्मचारी, सवारी चालक लगायतका कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । साथै नगरपालिकाभित्र रहेको क्यान्टिनका सञ्चालक र नगरपालिकाको प्रवेशद्वारमा बस्ने स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरिएको छ ।
“जनतासँग बढी सम्पर्कमा आउने र जोखिममा रहनेहरुको पहिलो चरणमा स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएका छौ,” सोतीले भन्नुभयो, “यसको रिपोर्ट आएपछि थप स्वाब सङ्कलन गर्ने/नगर्ने निर्णय गर्छौ ।” व्यास नगरपालिकाले हालसम्म ७ सय ७५ जनाको स्वाब परीक्षण गराएको छ । त्यसमध्ये २९ जनामा कोरोना पुष्टि भएको थियो ।