अब कृषकले पाउनेछन् परिचयपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    अब कृषकले पाउनेछन् परिचयपत्र

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७७, आईतवार

    तनहुँ । कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न तनहुँको भीमाद नगरपालिकाले परिचयपत्र प्रदान गर्ने भएको छ । व्यावसायिक कृषकहरुको पहिचान गरी कृषिलाई व्यावसायीकरण गर्न नगरपालिकाले कृषकलाई परिचयपत्र प्रदान गर्न लागेको हो ।

    नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र वितरण गर्ने उल्लेख गरेको छ । व्यावसायिक रुपमा कृषि पेशा अङ्गालेका कृषकलाई पहिचानका लागि परिचयपत्र वितरण गर्न लागिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । त्यसका लागि नगरपालिकाले ९ वटै वडामा रहेका कृषकको तथ्याङ्क सङ्कलन गर्नेछ ।

    “कृषि पेशालाई सम्मानित पेशा बनाउन र कृषि पेशा गरिरहेका कृषकलाई प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न लागेका हौ,” उहाँले भन्नुभयो । कृषकलाई परिचय वितरण गरेपश्चात् कृषि लक्षित कार्यक्रममा अनुदान लगायतका सहयोग गर्न सहज हुने विश्वास गरिएको नगरप्रमुख थापाले बताउनुभयो ।

    नगरप्रमुख थापाका अनुसार कृषकलाई पूँजी अभाव हुन नदिन व्यावसायिक कृषकहरुलाई सहकारीमा आबद्ध गर्ने नीति अवलम्बन गरिएको छ । एक उत्पादन ः एक पकेट क्षेत्र कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न व्यावसायिक उत्पादनमूलक समूह तथा सहकारीलाई विशेष प्रोत्साहन गरिने थापाले जानकारी दिनुभयो ।

    उन्नत घाँस खेतीतर्फ कृषकहरुलाई उत्प्रेरित गर्दै पशु आहारमा वृद्धि ल्याउन व्यापक रुपमा उन्नत घाँसहरुको विकास गर्ने र उपयुक्त स्थानहरुलाई घाँसको बीउ उत्पादन गर्ने स्रोतकेन्द्रको रुपमा विकास गर्ने नगरपालिकाको सोच छ । जैविक विविधताको सम्बद्र्धन र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकुल प्रविधिहरुको विकास गरी कृषिजन्य उत्पादनमा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने, पशु उत्पादकत्व वृद्धि गर्न नश्ल सुधारको लागि कृत्रिम गर्भाधान तथा उन्नत व्याड वितरण गर्ने कार्यलाई प्राथमिकतापूर्वक सञ्चालन गरिने नगरप्रमुख थापाले बताउनुभयो ।

    माटो परीक्षणको अभावमा कृषि उत्पादन वृद्धि हुन नसक्ने हुनाले प्रत्येक महिनाको एक पटक माटो परीक्षण गर्ने गरी माटो परीक्षण क्लिनिक सञ्चालन गरिनेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले कृषि विकास, पशु विकास, दुध उत्पादन तथा सहकारीको प्रबद्र्धन र विकासका लागि नविनतम प्रविधि सम्भाव्य बस्तीहरुको पहुँचमा ल्याउन सहकारी तथा कृषक समूहहरुलाई संस्थागत विकास र व्यावसायिक तालीम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

    कोभिड–१९ का कारण रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्किएका व्यक्तिको श्रम, पुँजी, सीप र रुचीका आधारमा कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रमा आवश्यकता अनुसार रोजगारी प्रबद्र्धनका कार्यक्रम सञ्चालन गरिने थापाले बताउनुभयो ।

    नगरपालिकाले नगरक्षेत्रलाई विभिन्न वस्तुको पकेट क्षेत्र तथा स्रोतकेन्द्रको रुपमा विकास गर्ने गरी कार्य अगाडी बढाएको छ । भीमाद नगरपालिका–९ को भानुमतिमा सञ्चालित मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँमा प्रदेश सरकारको सहयोगमा चिस्यानकेन्द्र, उच्च प्रविधिको नर्सरी लगायतका पूर्वाधार निर्माणको काम भइरहेको छ ।

    कृषि उत्पादनमा प्रत्यक्ष योगदान हुने सिंचाई सुविधालाई भरपर्दो बनाउन नगरपालिका क्षेत्रका कच्ची कुलोहरुलाई पक्की कुलोमा परिणत गरिएको छ । साना कुलोहरु नगरपालिका आफैले र मझौला कुलो प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा निर्माण गर्ने नीति बमोजिम एक हजार पाँच सय ७१ मिटर कच्ची कुलो स्तरवृद्धि गरी पक्की बनाइएको नगरपालिकाले जनाएको छ ।