तनहुँ । तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी रहेको बुझिएको छ ।
भानु नगरपालिका–१ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङबाट १ सय २२ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये शुक्रबार भानु नगरपालिका–१ का २० जनामा कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकामा समुदायका २३ जनामा कोरोना सङ्क्रमण भएको छ । शुक्रबार कोरोना पुष्टि भएकाहरुलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राखिएको छ ।
नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरपालिका पनि महामारीको चपेटामा पर्न सक्ने भएकाले थप सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । सङ्कटको घडीमा सङ्क्रमणमा रहनुभएका महानुभावहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जोखिमको घडीमा स्वास्थ्यको ख्याल गर्दै मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, भीडभाड नगर्न र चाडपर्वहरु नजिकिदै गरेको परिप्रेक्ष्यमा पर्व मनाउँदा न्यूनतम स्वास्थ्यका मापदण्ड प्रयोग गर्न नगरप्रमुख गौलीले आग्रह गर्नुभएको छ ।
साथै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत समाजका बुद्धिजीवि वर्गहरुलाई समाजमा कोरोना सम्बन्धी सचेतना जगाउन पनि नगरप्रमुख गौलीले अनुरोध गर्नुभएको छ ।