तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाका ४६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका एक पुरुषमा केही दिन अगाडी कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट याम्पाका ४० र क्वारेन्टिनमा बसेका ६ जनाको स्वाब सङ्कलन गरी परीक्षणमा गरिएकामा आइतबारा प्राप्त रिपोर्ट अनुसार सबैको कोरोना नेगेटिभ आएको हो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोरोना पोजिटिभ देखिएका पुरुषका परिवारको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिनुभयो । “समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनको परिवार, अन्य समुदायका व्यक्ति र क्वारेन्टिनमा बसेकाहरुको स्वाब परीक्षणका लागि पठाएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाले बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा पनि समुदायका व्यक्तिमा कोरोना परीक्षण गर्ने भएको छ । भानु नगरपालिकाका व्यक्तिको सम्पर्कमा आएका, पसल, बैङ्क, प्रहरी कार्यालय लगायतका व्यक्तिको कोरोना परीक्षण गरिने थापाले जानकारी दिनुभयो । “डुम्रेमा स्वाब सङ्कलनका लागि ६०–७० जनाको नाम आइसकेको छ,” उहाँले भन्नुभयो ।