विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    विद्युत् प्राधिकरणको वार्षिक नाफा ११ अर्ब नाघ्यो

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ ।

    प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो ।

    आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो ।

    आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो ।

    प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।

    विद्युत् चुहावट १५.२७ प्रतिशतमा झर्‍यो

    प्रणालीमा रहेको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ । आव २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आवहरुमा निरन्तर घटाएर अहिले १५.२७ प्रतिशतमा झारेको हो ।  चुहावटलाई आव २०७३/७४मा २२.९,  २०७४/७५ मा २०.४५,  २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।

    चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको कूल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल लग्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    विद्युत् आयात घट्यो, निर्यात बढ्यो

    गत आवमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ ।

    ‘देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कूल विद्युत खपतको करिव ३५ प्रतिशतविद्युत भारतबाट आयात गर्नु पर्ने अवस्था थियो । तर विद्युत खपत करिव ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत करिव ३५ देखि ३७ प्रतिशतकै हाराहारीमा थियो, घिसिङले भने,’ तर, गत आवसम्म आइपुग्दा कूल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ, चालु आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहनेछ ।’

    आव २०७८/७९ बाट  नेपाल विद्युतमा पूर्णत आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने उनले बताए । आव २०७२/७३मा साढे ३१ लाख, २०७३/७४मा २६ लाख ९० हजार, २०७४/७५मा २९ लाख ४० हजार, २०७५/७४मा ३ करोड ४७ लाख र २०७६/७७मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको हो ।