तनहुँ : डाँका चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–२ केउरानी बस्ने ७६ वर्षीय खेमलाल आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनलाई शनिबार राति सम्बन्धित घर वतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०५७ साल भदौ १४ गते तीन वर्ष कैदको फैसला सुनाएको थियो । पक्राउ परेका आलेलाई आइतबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ ।
नकवजनी चोरी मुद्दामा १८ वर्षपछि पक्राउ
यसैगरी प्रहरीले नकवजनी चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदी बस्ने ३८ वर्षीय पूर्णबहादुर आले रहेका छन् । उनलाई पनि शनिबार राति घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।
निजविरुद्ध जिल्ला अदालतले विसं २०५९ साल वैशाख १६ गते दुई वर्ष ७ महिना २१ दिन कैद र रु आठ हजार दुई सय ५० जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका आलेलाई आइतबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई तीव्र पारेको छ ।