तनहुँ जलविद्युत आयोजनाको सहयोगमा विद्यालयको भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ जलविद्युत आयोजनाको सहयोगमा विद्यालयको भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८३, शुक्रबार

    दमौली, २ असाेज । तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा ऋषिङ गाउँपालिका–१, गैराखुदीस्थित श्री दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

    भवनको आज ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, वडा नम्बर १ का वडाध्यक्ष कुशबहादुर आले र विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

    शौचालय सुविधासहितको दुईतले विद्यालय भवनमा छ वटा कक्षाकोठा रहनेछन् । भवन निर्माणका लागि गत असार २६ गते व्यास–२, दमौली, तनहुँस्थित बेलु निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको कुल रकम रु एक करोड २० लाख ६८ हजार सात सय २३ रहेको छ । विसं २०८४ पुस २५ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण अवधि तोकिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

    नयाँ विद्यालय भवन नेपाल सरकारका विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिनेछ । भवनले विद्यार्थीहरूका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यस पहलले आयोजनाको प्रभाव क्षेत्रभित्र सामाजिक पूर्वाधार सुधार तथा दिगो सामुदायिक विकासमा योगदान पु¥याउने आयोजनाको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको भण्डारीको भनाइ छ ।

    भवन निर्माण सम्पन्न भएपछि आयोजना प्रभावित समुदायका विद्यार्थीहरूका लागि थप व्यवस्थित तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध हुनेछ । यसबाट अनुकूल सिकाइ वातावरण सिर्जना हुनुका साथै आसपासका समुदायको दीर्घकालीन शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा समेत योगदान पुग्ने विद्यालयका प्रधानाध्यापक आलेले बताए ।

    आयोजनाको आर्थिक सहयोगमा यसअघि व्यास नगरपालिका–५, बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालय तथा भिमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयका भवन निर्माण गरिएका छन् । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाको आर्थिक सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारलगायतका क्षेत्रमा हालसम्म ९८ वटा योजना सम्पन्न भएका छन् भने नौ वटा योजना निर्माणाधीन कार्यान्वयनको क्रममा रहेका छन् ।