तनहुँ : बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ गैराथोक बस्ने ३३ वर्षीय विनोद भन्ने धनबहादुर राना र ३६ वर्षीया नमुना राना ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेकी नमुना धनबहादुरको कान्छी श्रीमती हुन् ।
उनीहरुलाई सम्बन्धित घर वतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजहरु विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७५ असार २६ गते जनही एक वर्ष कैद र रु दश हजार जरीवानाको फैसला सुनाएको थियो । उक्त फैसला उपर जनही ११ महिना ५ दिन कैद र जनही रु दश हजार जरीवाना भुक्तान गर्न बाँकी रहेकाले निजहरुलाई अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएकालाई धमाधम पक्राउ गरिरहेको छ ।