तनहुँ : कृत्रिम गर्भाधानतर्फ पशुपालक कृषकको आकर्षण बढ्दै गएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुई जिल्लामा एक वर्षको अवधिमा ३७ हजार भन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरेको जनाएको छ ।
दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले तनहुँमा ९ हजार ४ सय ५४ र नवलपुरमा २८ हजार ५ सय ३८ पशुमा कृत्रिम गर्भाधान गरेको कार्यालय प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार तनहुँमा ५ हजार ९ सय ८८ गाई, ३ हजार ४ सय १९ भैसी र ४७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । नवलपुरमा २१ हजार ७ सय ६२ गाई, ६ हजार ५ सय ३९ भैसी र २ सय ३७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।
तनहुँतर्फ भेटेरीनरी अस्पताल र व्यास नगरपालिकामा १ हजार ९ सय ४५, भानु नगरपालिकामा ६ सय २, भीमाद नगरपालिकामा २ सय ४०, शुक्लागण्डकी नगरपालिकामा २ हजार १ सय २१, बन्दीपुर गाउँपालिकामा २ सय ९५, आँबुखैरेनी गाउँपालिकामा २ हजार ८ सय ६, म्याग्दे गाउँपालिकामा ४ सय ४९ र देवघाट गाउँपालिकामा ९ सय ९६ पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।
नवलपुरतर्फ गैडाकोट नगरपालिकाका ९ हजार ३२, देवचुली नगरपालिकाका ४ हजार ६ सय ८०, कावासोती नगरपालिकाका ३ हजार ७ सय ३९, मध्यविन्दु नगरपालिकाका ३ हजार ३ सय ४०, विनयत्रिवेणी गाउँपालिकाका ४ हजार २ सय ६ र हुप्सेकोट गाउँपालिकाका ३ हजार ५ सय ४१ पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।
डा। श्रेष्ठका अनुसार कृत्रिम गर्भाघान गरिएका २७ हजार ७ सय ५० गाईमध्ये ६५ प्रतिशतमा सफल भएको छ । त्यस्तै ९ हजार ९ सय ५८ भैसीमध्ये ५८ र २ सय ८४ बाख्रामध्ये ४० प्रतिशतको सफल गर्भाधान भएको छ ।
आर्थिक वर्ष ०७५/७६ भन्दा ०७६/७७ मा कृत्रिम गर्भाधान १२ प्रतिशतले बढेको छ । आव ०७५/७६ मा २६ हजार ७ सय १२ गाई, ७ हजार २ सय ३७ भैसी र ५७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको थियो ।
सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा। श्रेष्ठले बताउनुभयो ।
कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नपर्दैैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ ।