जसपुरमा वंशु गुरुङका सन्तानले पुर्खा सम्झिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जसपुरमा वंशु गुरुङका सन्तानले पुर्खा सम्झिए

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    तनहुँ : सिन्धुलीगढी विजयोत्सवको अवसरमा तनहुँको जस्पुरस्थित वंशु गुरुङका सन्तानहरुले वंशु गुरुङको सम्मानमा शालिकमा माल्यार्पण गरेका छन् । 

    वंशु गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा भएको सम्मान कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, १२ नम्बर वडाध्यक्ष मनराज गुरुङ लगायत जनप्रतिनिधि समेतको उपस्थिति हुनुहुन्थ्यो ।

    सिन्धुलीगढीमा विश्वमै पहिलोपटक १८२४ साल असोज १५ गते अंग्रेज फौजलाई पराजित गरेको दिनको स्मरणमा विजयोत्सव मनाइएको हो । बिहीबार सिन्धुली, काठमाडौं र तनहुँको जस्पुरमा विजयोत्सव मनाइएको छ । सिन्धुलीगढीको युद्धमा सिकारी सरदार वंशु गुरुङले अंग्रेज फौजको ढाड हानेर तितरवितर पारेकाले उनको योगदान महत्वपूर्ण रहेको स्मरण गरिँदै आएको छ । 

    जसपुरमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख किसान गुरुङ लगायतले जस्पुरमा निर्माण भएको वंशु गुरुङको प्रतिमामा माल्यार्पण गरिएको थियो । 

    कार्यक्रममा बोल्दै नगर प्रमुख गुरुङले वंशु गुरुङ लगायत सपुतहरुले सिन्धुलीगढीको युद्धमा विजय हासिल गरी गौरव बढाएकामा सम्मान व्यक्त गर्नुभयो । वंशु गुरुङ लगायत वीरहरुको योगदान अतुलनीय रहेको भन्दै राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने गुरुङले माग गर्नुभयो ।

    राष्ट्र जोगाउने व्यक्ति वंशु गुरुङको शालिक आफ्नो वडामा बन्नुले गौरव बढाएको भन्दै शुक्लागण्डकी १२ का वडाध्यक्ष मनराज गुरुङले वंशु गुरुङ प्रतिष्ठानका लागि वडाको तर्फबाट पनि सहयोग गरिने बताउनुभयो । 

    पोखरा महानगरपालिकाका १६ नम्बर वडा सदस्य राजेश गुरुङले वीरगाथा बोकेका व्यक्तित्व, आफ्नो पुर्खाको शालिक जस्पुरमा स्थपना गर्न पाउँदा गरिमा बढेको बताउनुभयो । गत वर्ष जस्पुरमा स्थापना गरिएको प्रतिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गर्नुभएको थियो ।

    प्रतिष्ठानका अध्यक्ष लालजङ थापा, सल्लाहकार नरबहादुर गुरुङ, सदस्य विनु गुरुङ लगायतले पनि बोल्नुभएको थियो ।