तनहुँ : तनहुँको भीमाद नगरपालिकाका दुई वडामा लकडाउन जारी गरिएको छ । समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले वडा नं ६ र ७ मा लकडाउन जारी गरेको हो ।
वडा नं ६ र ७ को समुदायको भीडभाड हुने मुख्य क्षेत्र भएका हुनाले बजार क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गरी सङ्क्रमणको पहिचान एवं जोखिम न्युनीकरण गर्नका लागि लकडाउन जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।
उहॉका अनुसार असोज १७ गते बेलुका ५ बजेदेखि असोज २३ गतेसम्मसम्मका लागि वडा नं ६ को पूरै क्षेत्र र वडा नं ७ को भीमाद प्रवेश गर्ने नाका पुलको मुखदेखि पेट्रोल पम्प हुँदै बागटार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द रहनेछ ।
भीमाद बजारबाट अन्य पालिकाहरुमा जाने अत्यावश्यक सवारी साधन भीमाद क्षेत्रमा नरोकी जान र अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन आग्रह गरिएको छ ।