पोखरा : नेपाल प्रेस युनियन कास्कीले तीनवटा पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरेको छ । युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’, ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि सो समिति गठन गरेको हो । यी तीनवटै पुरस्कार युनियनद्वारा सञ्चालित छन् ।
युनियनका अनुसार युनियन सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा गठित ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समितिमा वीरेन्द्र केसी र किरण केसी सदस्यमा तथा युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल पदेन सदस्यका रुपमा रहनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद सूर्यबहादुर केसीले आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा केसी परिवारले सो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कार राशी ५१ हजार रहेको छ ।
यसैगरी नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार गङ्गाधर पराजुलीको संयोजकत्वमा गठित ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समितिमा बोधराज कार्की, सरिता तिमिल्सिना पगेनी, विजय भण्डारी र प्रकाशचन्द्र सापकोटा सदस्य रहनुभएको छ । उक्त पुरस्कारको राशी रु ३३ हजार रहेको छ ।
त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित ‘शान्ति पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समितिमा भोला बराल, कुशल बराल र बिमला भण्डारी सदस्य हुनुहुन्छ ।
समाजसेवी भोला बरालले बाबु पूर्णप्रसाद बराल र आमा मायादेवी बरालको नाममा युनियनले सञ्चालन गर्ने गरी २५ हजार राशिको सो पुरस्कार स्थापना गर्नुभएको हो । ती पुरस्कारहरु कात्तिक र मंसिरमा वितरण गरिने सचिव प्रदीप पौडेलले जानकारी दिनुभयो ।