तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा आइतबारदेखि सुचारु भएको छ । उपचार केन्द्रका ल्यावका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज १५ गतेदेखि उपचार केन्द्रको सेवा बन्द गरिएको थियो ।
कन्ट्याक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसीआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आजदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपचार केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
“कोरोना सङ्क्रमण भएकालाई यसै केन्द्रको आइसोलेशनमा राखेर उपचार शुरु गरेका छौ, बाँकीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सुचारु गरिएको छ,” डा. श्रेष्ठले भन्नुभयो, “उपचार केन्द्रलाई पूर्ण सुरक्षित बनाएर सेवा शुरु गरेका छौ ।”