पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि पदयात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • पर्यटन

    पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि पदयात्रा

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडी बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो ।

    कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि सुचारु गर्नका लागि पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । कात्तिक १ गतेदेखि गरिने पदयात्रा भीमाद बजारदेखि वडा नं ९ को पाथर्दी पुगेर टुङ्गिनेछ । पदयात्रामा करीब एक सय ५० जनाको सहभागिता रहने अनुमान गरिएको आलेले जानकारी दिनुभयो ।

    “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य स्वरुप वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गर्न लागेका हौ,” उहाँले भन्नुभयो, “पदयात्राको मुख्य लक्ष्य वडाभित्र भएका सबै पर्यटकीय गन्तव्य बाहिर ल्याउनु हो ।” पदयात्रा १७ किमि दूरीको रहनेछ ।

    पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिनेछ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतिक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।

    पदयात्राको क्रममा इलुङ झरना पुग्ने कार्यक्रम पनि छ । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा कोभिड–१९ कै कारण उक्त क्यानोनिङ रोकिएको छ । “क्यानोनिङ गराउनका लागि तयारी गर्दै थियौ, कोभिडले सबै कार्यक्रम रोकियो, अब विस्तारै त्यसतर्फ पनि अगाडी बढ्ने सोच बनाएका छौ,” आलेले भन्नुभयो ।

    इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङ समेत हालिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ मा रु दश लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरिद गर्ने तयारी गरिएको छ ।

    पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो ।

    भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले पदयात्राले समग्र वडाको पर्यटकीय गन्तव्यको पहिचान र प्रबद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको जानकारी दिनुभयो । “पदयात्रा मार्फत् पर्यटकीय गन्तव्य चिनाउन सहयोग पुग्ने विश्वास लिएका छौ,” उहाँले भन्नुभयो, “कोभिड सँगसँगै सुरक्षा अपनाएर पर्यटकीय गतिविधि अगाडी बढाउनुको विकल्प छैन ।”