तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीखोला पुलको रेलिङ मर्मत गर्न स्कूल अफ डेमोक्रेसी तनहुँले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सदरमुकाम दमौली नजिकै रहेको बुल्दीखोला पुलको रेलिङ भाँचिएको लामो समय बितिसक्दा पनि चासो नदेखाएपछि स्कूल अफ डेमाक्रेसी तनहुँ शाखाले बुधबार सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
शाखाका सभापति डम्बरबहादुर अधिकारीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै भविष्यमा कुनै अप्रिय घटना भएमा त्यस्ताको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो । रेलिङ भाँचिएको लामो समय बितिसक्दा मर्मत गर्नुको साटो रिबन बाँधेर झन् धराप थाप्ने काम भइरहेको अधिकारीले बताउनुभयो ।
उक्त पुलबाट केही समय अगाडी एक जना व्यक्ति खसेर घाइते भएका थिए ।