


तनहुँ : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मङ्गलबारदेखि चेन लकको अवधारणा लागु गर्यो । जथाभावी सवारी पार्किङ गर्ने क्रम बढेपछि प्रहरीले चेन लकको अवधारणा ल्याएको थियो ।
चेन लकको अवधारणा लागु गरेको पाँच दिनमै प्रहरीले १६ वटा सवारी साधनलाई कारवाही गरेको छ । तोकिएको निश्चित ठाउँ भन्दा अन्यत्रै पार्किङ गर्ने १५ वटा मोटरसाइकल र एउटा कारलाई चेन लकमार्फत् कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीमध्ये १५ वटा सवारीलाई एक÷एक हजार र एउटालाई पाँच सय जरीवाना गरिएको छ । “जहाँपायो त्यही पार्किङ गरेर सवारी धनी आफ्नो काममा गइदिँदा ट्राफिक प्रहरीलाई पनि हैरानी भइरहेको थियो, त्यस्ता सवारीलाई चेन लक गरिदिएपछि ट्राफिक अर्को काममा लाग्न पाउँछ,” रानाभाटले भन्नुभयो ।
प्रहरीको यो अभियानमा दमौलीका स्थानीयवासीबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको रानाभाटले उल्लेख गर्नुभयो । “धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ, जसले प्रहरीलाई पनि काम गर्न हौसला मिलेको छ,” उहाँले भन्नुभयो, “साथै गलत गर्ने पनि सच्चिने मौका पाएका छन् ।”
निषेधित स्थानमा पार्किङ गरेको सवारी साधनलाई चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ । त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ । “उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिन्छ,” उहाँले भन्नुभयो ।
कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । “त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,” रानाभाटले भन्नुभयो, “सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।” दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने रानाभाटको विश्वास छ ।
तस्वीर : विकास खनाल