काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयाे ।
अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयाे । चाडबार्डको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उहाँको भनाइ छ । लकडाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उहाँले बताउनुभयाे ।
यस्तै उहाँले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभयाे । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभयाे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गर्नुभयाे ।
दशै, तिहार र छठ जस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उहाँले आग्रह गर्नुभयाे ।