थारुबासमा सडक कालोपत्रे सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    थारुबासमा सडक कालोपत्रे सकियो

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलामा सडक कालोपत्रे सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा असोज पहिलो सातादेखि कालोपत्रे शुरु गरिएको थियो ।

    प्रदेश सरकारको ५० लाख रुपैयाँको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे सम्पन्न भएको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो ।

    सडक कालोपत्रे नहुँदा वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको थियो । सडक कालोपत्रे भएसँगै स्थानीयवासी खुशी भएका छन् ।

     सोही सडक खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रेको काम शुरु गरिनेछ । त्यसका लागि बोलपत्र सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ । सङ्घीय सरकारमार्फत् विनियोजित एक करोड ७० लाख रुपैयाँको लागतमा उक्त खण्ड कालोपत्रे गरिनेछ ।

    सोही खण्डमा केही समय अगाडी मात्रै दुई करोड रुपैयाँको लागतमा नयाँ ट्रयाक खोलिएको छ । उक्त खण्डमा रहेको पहाड फोरेर तीन किमि नयाँ ट्रयाक खोलिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    “पहरा भएको ठाउँ फोरेर नयाँ ट्रयाक बनाइसकेका छौ, त्यस खण्डमा पनि निकट भविष्यमै सडक कालोपत्रे गरिने र घुमाउनेसम्मकै सडक कालोपत्रे गर्ने योजना छ,” उहॉले भन्नुभयो, “त्यसपछि यहाँका जनातालाई आवतजावतमा सहज हुन्छ ।”

    बन्दीपुरको डुम्रेदेखि घुमाउनेसम्म सडक कालोपत्रे भएपछि तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका बासिन्दालाई नारायणगढ जान सहज हुनेछ । सोही खण्डमा यस अगाडी नै बन्दीपुर गाउँपालिकाको बजेटमा एक हजार दुई सय ७० मिटर सडक कालोपत्रे भइसकेको छ ।