तनहुँ : समुदायस्तरमा कोरोना फैलदै गएपछि शुक्लागण्डकी नगरपालिका–५ का २८ टोल सिल गरिएको छ । वडामा ३३ टोल छन् । संक्रमणबाट जोगाउन वडाको समथर भूभागमा रहेका राजमार्ग आसपासका टोल सोमबार राति १२ बजेदेखि सिल गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
सोमबार यो वडामा ३ जना संक्रमित थपिएका छन् । ४६ र २९ वर्षीय पुरुष तथा ३८ वर्षीया महिला संक्रमित भएका हुन् । कन्ट्याक ट्रेसिङमा परेका उनीहरुको स्वाब संकलन गरी पिसीआर परिक्षण गरिएकोमा संक्रमणको पुष्टि भएको हो ।
सिमलचौर, सिमलगैरी, नयाँ गाउँ, माथिल्लो नयाँ गाउँ र नागढुंगा टोल खुल्ला नै रहने वडाध्यक्ष दिर्घबहादुर थापाले बताउनुभयो । सिल गरिएको टोल अर्को सुचना जारी नहुदाँसम्म बन्द रहने उहॉको भनाई छ । वडाध्यक्ष थापाले सावधानी अपनाएर घरमै बस्न वडाबासीलाई अनुरोध गर्नुभएको छ । यो वडामा हाल १९ जना सक्रिय संक्रमित आईसोलेसनमा छन् । तीमध्ये ७ जना जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हुन् । उनीहरु यही वडामा बसोबास गर्दछन् ।