तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागिएको पदयात्रा स्थगित भएको छ । भीमाद नगरपालिकामा कोभिड–१९ को जोखिम बढिरहेको र नगरपालिकाले भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेपछि पदयात्राको कार्यक्रम स्थगित गरिएको हो ।
कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडी बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको थियो । कात्तिक १ गते गर्ने भनिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएपनि हाललाई उक्त कार्यक्रम स्थगित गरिएको समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । “अहिलेको परिस्थितिमा कार्यक्रम नगर्न नगरपालिकाले सबैलाई अनुरोध गरेपछि हामीले पनि यो कार्यक्रम स्थगित गर्नुपर्यो, छिट्टै अर्को मिति सार्वजनिक गर्छौ ।” भीमाद बजारदेखि वडा नं ९ को पाथर्दीसम्म करिब १७ किमि दूरीको पदयात्रा तय गरिएको छ ।