मठमन्दिरमा पूजापाठ निषेध, प्रजिअकै निवासमा भने छुट !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मठमन्दिरमा पूजापाठ निषेध, प्रजिअकै निवासमा भने छुट !

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७७, शनिबार

    तनहुँ : कोभिड–१९ को जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार एउटा सार्वजनिक सन्देश जारी गर्यो । सन्देशमा लेखिएको थियो, पूजापाठलाई घर घरमै सीमित गर्ने गराउने, मन्दिर र तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्ने ।

    तर प्रशासन कार्यालयले उक्त सन्देश जारी गरेको भोलिपल्टै शनिबार प्रमुख जिल्ला अधिकारीकै निवासमा भने पूजापाठ गरिएको छ । निर्माण व्यवसायी सङ्घ तनहुँले घटनास्थापनाको अवसरमा प्रजिअ निवासभित्र रहेको मन्दिरमा पूजापाठ गर्नुका साथै बोका बलि चढाएको छ । प्रजिअको निवासमा सङ्घले नै मन्दिर निर्माण गरेको थियो ।

    निर्माण व्यवसायी सङ्घ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले भीडभाड नगरिकन नित्यकर्म मात्रै गरिएको बताउनुभयो । “चार÷पाँच जनाको सहभागितामा मात्रै गर्नैपर्ने भएर नित्यकर्म मात्रै गरिएको हो, परम्परादेखि चलिआएको कामलाई निरन्तरता दिएका हौ,” उहाँले भन्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले नित्य पूजा गर्न नरोकिएकाले निर्माण व्यवसायी सङ्घको पूजा पनि नित्य पूजा अन्तर्गत नै पर्ने बताउनुभयो । “मठ मन्दिर खुल्ला नगर्ने तर नित्य पूजा भने गर्न सकिन्छ, सोही बमोजिम उहाँहरुले पनि नित्य पूजा गर्नुभएको हो,” प्रजिअ आचार्यले भन्नुभयो, चार पाँच जना आउनुभयो, एकैछिनमा गइहाल्नुभयो,” उहाँले भन्नुभयो ।