तनहुँ : तनहुँको व्यास नगरपालिका–५ बरबोटे निवासी दुवै मिर्गौला पीडित टेकबहादुर आलेलाई मङ्गलबार रु ७१ हजार पाँच सय ९३ प्रदान गरिएको छ । केही समय अगाडीदेखि मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका आलेलाई दुवई, अमेरिका र अष्ट्रेलियाबाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम प्रदान गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले विदेशमा रहेर पनि जिल्लावासीलाई परेको मर्कामा सहयोग गर्नु मानवीय कार्य रहेको बताउँदै पीडितको स्वास्थ्यलाभको कामना गर्नुभयो । मिर्गौला पीडितको उपचारमा सहयोग पु¥याउन अभियान सञ्चालन गर्नुभएका तरुण दल व्यास नगर समितिका सभापति जीवनचन्द ठकुरीले मिर्गौला पीडितको उपचारका लागि देश तथा विदेशबाट सहयोग प्राप्त हुन थालेको जानकारी दिनुभयो ।
दुवईमा रहेका सन्तोष राना र नवीन पुलामीको सक्रियतामा रु ५५ हजार दुई सय ३० सङ्कलन भएको थियो । त्यस्तै अमेरिकामा रहनुभएका म्यादे गाउँपालिका–२ जामुने निवासी तालिम थापाले रु ११ हजार तीन सय ६३ र अष्ट्रेलियामा रहनुभएका व्यास नगरपालिका–१ गल्वुवेशी निवासी सुदीप हड्खलेले रु पाँच हजार सहयोग गर्नुभएको छ ।
उपचारका लागि रकम जुट्न थालेपछि मिर्गौला पीडित आलेले अब बाँच्ने आशा पलाएको बताउनुभयो । “अब थप १०÷१५ वर्ष बढी बाँच्छु,” उहाँले भन्नुभयो ।