स्थानीयवासीको माग सम्बाेधन गर्दै तनहुँ जलविद्युत आयोजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    स्थानीयवासीको माग सम्बाेधन गर्दै तनहुँ जलविद्युत आयोजना

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७७, बिहीबार

    तनहुँ : स्थानीयवासीले राखेका मागहरु पूरा गराउन तनहुँ जलविद्युत आयोजना अग्रसर भएको छ । आयोजना प्रभावित क्षेत्र तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारका स्थानीयवासीले राखेका विभिन्न मागहरुमध्ये प्राथमिकताका आधारमा माग सम्बोधन गर्नेतर्फ आयोजना अगाडी बढेको हो । स्थानीयवासीले केही समय अगाडी विभिन्न ३५ बुँदे माग राख्दै आयोजनालाई ज्ञापनपत्र बुझाएका थिए ।

    आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका तर्फबाट पूरा गर्न सकिने मागलाई सम्बोधन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ निर्माणका क्रममा क्षति पुगेको खानेपानी पाइप र सडकमा जडान गरिएका सडकबत्ती मर्मत गरिएको छ । “सुरुङ खन्ने क्रममा खानेपानी पाइपमा क्षति पुगेर खानेपानीको समस्या भएको भन्दै स्थानीयवासीले मागपत्र बुझाउनुभएको थियो, त्यसलाई सम्बोधन गरेर पाइप मर्मत गरेका छौ,” उहाँले भन्नुभयो, “साथै आयोजनामार्फत् नै जडान गरिएका सडकबत्ती पनि मर्मत गरिएको छ ।”

    कतिपय मागहरु आयोजना एक्लैले मात्रै पूरा गर्न नसकिने हुँदा सबै पक्षसँग समन्वय गरिने घिमिरेले जानकारी दिनुभयो । “कतिपय मागहरु स्थानीय तहले पूरा गर्नुपर्ने खालका पनि छन्, स्थानीयवासीका मागहरुलाई प्राथमिकताका आधारमा पूरा गर्दै अगाडी बढ्छौ,” घिमिरेले भन्नुभयो ।

    स्थानीयवासी केशर थापाले खानेपानीको पाइप मर्मत गरिएपछि खानेपानीको समस्या केही हदसम्म समाधान भएको जानकारी दिनुभयो । उहाँका अनुसार किस्रिडी रोङसिंडी खानेपानी आयोजनाको क्षति भएको पाइप मर्मत गरिएपछि ट्याङ्कीसम्म पानी आएको छ । “विगत दुई महिनादेखिको खानेपानीको समस्या केही समाधान भएको छ,” उहाँले भन्नुभयो ।

    सुरुङ खन्ने क्रममा पाइपमा क्षति हुँदा झापुटार, बेल्टार, पृथ्वीटोलका स्थानीयवासीलाई खानेपानीको समस्या भएको थियो । खानेपानी समस्या हुँदा यहाँका स्थानीयवासीले पाटन, कोइदिमसम्म हिँडेरै खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो । “तीन ठाउँमा नै अहिले पानी आएको छ, दुई महिनादेखिको समस्या सम्बोधन भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार सडकबत्ती पनि मर्मत गरिएको र नयाँ विस्तार हुने क्रममा रहेको जानकारी दिनुभयो ।

    एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडी मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

    आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।