तनहुँ : तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोड भन्दा बढी आम्दानी गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु चार करोड १८ हजार तीन सय ७२ आन्तरिक आम्दानी गरेको हो ।
असोज मसान्तसम्म नगरपालिका तर्फ रु तीन करोड १६ लाख ८६ हजार तीन सय ७२ र मालपोत कार्यालय तनहुँबाट जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्य भन्दा रु ६ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड ६ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु १६ करोडको आन्तरिक आम्दानी लक्ष्य राखेको छ । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग कर लगायतबाट रु ९ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाई, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरीवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम विक्री, परीक्षा, विविध फारम र अन्य विविध फारमबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।