तनहुँ : दमौलीका युवतीहरुले मिलेर गठन गरेको रोटर्याक्ट वेदव्यासले सडक बालकलाई नयाँ कपडा खरिद गरिदिएको छ । दमौली बजारमा माग्दै हिँड्ने गरेका तीन बालकलाई क्लवले दशैंमा नयाँ कपडा खरिद गरिदिएको हो ।
क्लवका सदस्यहरुले प्रयोग गरेको कपडा विक्री गरेर उठेको रकमले तीन बालकलाई नयाँ कपडा खरिद गरिएको क्लवका अध्यक्ष सन्जु घलेले जानकारी दिनुभयो । “क्लवकै सदस्यहरुले अलि अलि प्रयोग गरेको कपडा सेकेण्ड ह्याण्डमा काठमाडौमा विक्री ग¥यौ, कपडा विक्री गरेर रु चार हजार आठ सय सङ्कलन भएको थियो, त्यही पैसाले सडक बालकलाई नयाँ कपडा किनेर दियौ ।”
सडक बालकहरुले दमौलीस्थित एक पसलमा आफैले कपडा रोजेका छन् । “दशैंमा नयाँ कपडा प्रदान गरेर सडक बालकलाई खुशी दिन सकिन्छ की भनेर यो काम गरेका हौ,” घलेले भन्नुभयो, “नयाँ कपडा पाएपछि उनीहरु खुशी भएको देखेर हामीलाई पनि आत्मसन्तुष्टि मिलेको छ ।”
केही समय अगाडी मात्रै गठन भएको उक्त संस्थाले व्यास नगरपालिका–५ चापाघाटमा साक्षरता अभियान सञ्चालन गरिसकेको छ । उक्त अभियानबाट हालसम्म अक्षर नचिनेका वृद्धाहरुले अक्षर चिन्न सफल हुनुभयो भने अक्षर चिनेकाले आफैले हस्ताक्षर गर्न सक्ने हुनुभएको थियो ।