दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, आईतवार

    तनहुँ : नेपालीहरुको महान् पर्व दशैं शुरु भएपनि तनहुँ जलविद्युत आयोजनाको काम भने निरन्तर तीव्र गतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो ।

    आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिनुभयो । “दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,” घिमिरेले भन्नुभयो । सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युतगृह निर्माणका लागि हाल चिनियाँ मजदुरलले काम गरिरहेका छन् ।

    सिनो हाइड्रोले परिचालन गरेका करीब २ सय २० भन्दा बढी नेपाली मजदुरलाई दशैं बिदा दिइएपनि चिनियाँ मजदुरले काम गरिरहेको घिमिरेले बताउनुभयो । “दशंै लगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दशैं मान्न बिदा दिएका छाै, ५० जना चिनियाँ कामदार तथा कर्मचारीले दशैंको अवधिमा पनि काम गर्छन्,” घिमिरेले भन्नुभयो, “एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दशैंको अवधिमा विद्युतगृहमा (एक्सटेन्साेमिटर) उपकरण जडान गर्ने काम हुन्छ ।”

    दशैंमा आंशिक रुपमा काम सञ्चालन गरिने र नेपाली कामदार फर्केपछि पिसीआर परीक्षण पश्चात कामलाई थप तीव्रता दिइने घिमिरेले जानकारी दिनुभयाे ।

    सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

    आयोजनाको सहयोगमा बाटो कालोपत्रे

    सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले व्यास नगरपालिका–५ पाटनमा सडक कालोपत्रे र पक्की नाला निर्माण सम्पन्न गरेको छ । आयोजनाको सहयोगमा व्यास नगरपालिकामार्फत् कार्यान्वयन भएर वाराहीचोकदेखि भिमसेनचोकसम्मको पाँच सय मिटर सडक कालोपत्रे र पक्की नाला निर्माण सम्पन्न भएको हो ।

    आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रु दश लाखको सहयोगमा बाटो कालोपत्रे गरिएको घिमिरेले जानकारी दिनुभयो । यसैगरी आयोजनाले सोही वडास्थित राष्ट्रिय परोपकार महासङ्घमा भान्साघर निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरेको छ । उक्त काम दशैं लगत्तै शुरु हुने घिमिरेले बताउनुभयो । आयोजनामार्फत् नै चापाघाटसम्म सडक बत्ती मर्मत गरिएको छ ।

    ऋषिङ गाउँपालिकाका स्थानीयवासीले राखेका विभिन्न माग पनि प्राथमिकताका आधारमा सम्बोधन गरिने घिमिरेले जानकारी दिनुभयो ।