आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गादान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गादान

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि स्थानीयवासीले जग्गादान गरेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा सहित स्थानीयवासीले स्वास्थ्य केन्द्र भवन निर्माणका लागि १३ आना जग्गा दान गर्नुभएको हो ।

    गाउँपालिकाका अध्यक्ष थापाले चार आना, मदन थापाले साढे तीन आना, अमर थापाले साढे तीन आना र नहलसिंह मगरले दुई आना जग्गा दान गर्नुभएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारको उद्देश्य बमोजिम उक्त वडामा शनिबारदेखि स्वास्थ्य केन्द्र निर्माणको काम शुरु भएको छ ।

    बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले स्थानीयवासीले करिब रु ३९ लाख बराबरको जग्गा स्वास्थ्य केन्द्र भवन निर्माणका लागि दान गरेको जानकारी दिनुभयो । “गाउँपालिकाका अध्यक्ष लगायत स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा दिएर पुण्यको काम गर्नुभयो,” पोख्रेलले भन्नुभयो ।

    उक्त ठाउँमा आजदेखि स्वास्थ्य केन्द्रको भवन निर्माणको काम शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त भवनको शिलान्यास गर्नुभयो । प्रत्येक वडामा स्वास्थ्य केन्द्र बनाउने सरकारको लक्ष्य रहेको मन्त्री चुमानले सो अवसरमा बताउनुभयो ।

    स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई मन्त्री चुमानले दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको छ ।

    रु ३५ लाखको लागतमा निर्माण हुने भवन चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ । भवन एक तल्ला र चार कोठाको हुनेछ । “आधारभूत स्वास्थ्य सेवा वडाबाटै प्रवाह गर्ने लक्ष्य बमोजिम स्वास्थ्य केन्द्र निर्माण शुरु भएको छ,” वडाध्यक्ष पोख्रेलले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएपछि वडाका वासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्दैन ।”