तनहुँ : शुक्लागण्डकी जेसीजले जेसीज वर्ष २०२० सप्ताहको अवसरमा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । सप्ताहको दोस्रो दिन जेसीजले सोमबार शुक्लागण्डकी नगरपालिका–३ वन्केवास्थित निर्मल आधारभूत विद्यालयका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको हो ।
५४ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको अध्यक्ष मदन श्रेष्ठले बताउनुभयो । विपन्न वर्गका विद्यार्थीले पढ्ने विद्यालय भएकाले निर्मललाई छनोट गरेर सहयोग गरेको उहाँको भनाई छ । ‘शैक्षिक सामग्रीले विद्यार्थीलाई पढाईमा उत्प्रेरणा मिल्ने विश्वास छ,’ उहाँले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक पुष्पराज पौडेलले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले युवाहरुको समूह जेसीजले समाज परिवर्तनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्नुभयो । सो अवसरमा समाजसेवी विष्णुकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठ, शुक्लागण्डकी जेसीजका पूर्व अध्यक्ष विनोद राउत, दुर्गा सिग्देल, मनिष श्रेष्ठ, वर्तमान कार्यकारिणी उपाध्यक्ष इश्वरकुमार श्रेष्ठ, उपाध्यक्ष अनिष ढकाल, महासचिव रमेश भुजेल, शाखा सम्पादक सुरज लम्साल लगायतले बोल्नुभएको थियो ।
सोमबार विहान जेसीजले खैरेनीटार बजारमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । सप्ताहको पहिलो दिन आइतबार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिसरमा वृक्षारोपण र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा रहेका बिरामीलाई फलफूल वितरण गरिएको थियो । अन्तिम दिन मंगलबार भोलि ईलाका प्रहरी कार्यालय बेलचौतारालाई थर्मल गन र ट्राफिक नियम बोर्ड प्रदान गर्नुका साथै जेसीज सचिवालयमा वतृत्वकला प्रतियोगिता हुने जनाईएको छ ।