सूर्योदय हेर्न दैनिक एक हजार पर्यटक मानहुँकोटमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूर्योदय हेर्न दैनिक एक हजार पर्यटक मानहुँकोटमा

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७७, बुधबार

    तनहुँ : पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

    चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिनुभयो । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ,” उहाँले भन्नुभयो, “मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।” पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताउनुभयो ।

    चितवनबाटै आइपुग्नुभएका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताउनुभयो । “भिडियोमा मात्रै देखेको भन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।”

    पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन्,” उहाँले भन्नुभयो, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।”

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताउनुभयो । “मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडी बढ्नुपर्ने आवश्यकता महशुस भएको छ,” न्यौपानेले भन्नुभयो ।

    मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

    मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।

    फोहरमैला सरसफाई

    फोहरमैला व्यवस्थापनका लागि बुधबारबाटै मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरिएको छ । मानहुँकोटमा दैनिक पर्यटक बढेसँगै फोहर पनि जथाभावी रुपमा फालिएको छ । मानहुँकोट आएर फोहर नगरिदिन र फोहरमैला निश्चित ठाउँमा राखेर व्यवस्थापन गरिदिन वडाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । “मानहुँकोट घुम्न आउनुस्, तर जथाभावी रुपमा फोहर गरेर यसको सौन्दर्य घटाउने काम नगरिदिनुहोस्,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    व्यास नगरपालिकाले मङ्गलबार उक्त ठाउँमा सरसफाई समेत गरेको छ । सरसफाईका लागि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्ष श्रेष्ठ मानहुँकोट पुग्नुभएको थियो ।