व्यास नगरपालिकाद्वारा कारागारलाई खाट हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाद्वारा कारागारलाई खाट हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दी भुइँमै सुत्ने गरेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएसँगै व्यास नगरपालिकाले कारागारलाई खाट हस्तान्तरण गरेको हो ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेले ४० थान खाट साेमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख न्यौपानेले कारागार सुधारको पक्षमा व्यास नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने र कारागारलाई आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट सहयोग रहने न्यौपानेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी आचार्यले सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कारागार व्यवस्थापनका लागि सहयोग पुगेको बताउनुभयो । तीन तहको सरकारको सहयोग र सहकार्यले सुधार सम्भव रहेको बताउँदै नगरपालिकाको सहयोग सराहनीय रहेको बताउनुभयो । कारागार सुधारका लागि सबै पक्षसँग सहयोग गरिने बताउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले कारागारलाई सुधारगृहको रुपमा विकास गर्न कार्ययोजना बनाइएने बताउनुभयो ।

    व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कैदीबन्दीले आफूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कारागारका प्रमुख धु्रवसिं खड्का अनुसार व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट दुई जना सुत्न मिल्ने ११, शुक्लागण्डकी नगरपालिकाको तर्फबाट रु ५० हजार, बन्दीपुर गाउँपालिकाको तर्फबाट ५, क्रिष्टिना गुरुङको तर्फबाट दुई जना सुत्न मिल्ने ६ थान खाट सहयोग प्राप्त भएको छ । भानु नगरपालिका र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

    कारागारमा खाट सहयोग प्राप्त भएसँगै कैदीबन्दी खुशी भएका छन् । चिसो मौसममा भुइँमा सुत्दा बिरामी हुने समस्या भएकाले खाट प्राप्त भएपछि कैदीबन्दी खुशी भएको नाइके विष्णुहरि घिमिरेले जानकारी दिनुभयो ।

    कारागारका सूचना अधिकारी नारायण अधिकारीका अनुसार हाल कैदीबन्दी गरी २ सय २७ कैदीबन्दी छन् । अधिकारीका अनुसार (क) ब्लकमा एक सय ६ र (ख) ब्लकमा एक सय २१ कैदीबन्दी छन् । उहाँका अनुसार कारागारमा कर्तव्य ज्यानका ४७, लागुऔषधका ३५, जबरजस्ती करणीका ५१, नकबजनी चोरीका सात, सवारी ज्यानका १७, ज्यान मार्ने उद्योगका दश, कुटपिट अङ्गभङ्गका एक, मनव बेचबिखनका तीन, बहुविवाह, ठगीका सात, साधारण चोरीका पाँच लगायत छन् ।

    जिल्ला कारागारमा हालसालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन निर्माण भएपनि कैदीबन्दीको सङ्ख्या बढेसँगै व्यवस्थापनमा भने समस्या हुँदै आइरहेको छ ।