सर्वोच्चको आदेश पालना गरी फुस्रेटारबाट कार्यालय सञ्चालन गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्वोच्चको आदेश पालना गरी फुस्रेटारबाट कार्यालय सञ्चालन गर्न माग

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०७७, शुक्रबार

    तनहुँ : सर्वोच्च अदालतको आदेश पालना गरी तनहुँको भानु नगरपालिकाको कार्यालय फुस्रेटारबाट सञ्चालन गर्न माग गरिएको छ ।भानु नगरपालिका स्थानान्तरण विरुद्घको सङ्घर्ष समितिले बिहीबार प्रेस विज्ञप्ती मार्फत् अदालतको आदेश पालना गर्न माग गरेको हो ।

    सङ्घर्ष समितिका संयोजक भक्त बहादुर कुंवर, भानु नगरपालिका-२ का वडाध्यक्ष अर्जुनबहादुर केसी र वार्ता समितिका संयोजक सहदेव अधिकारीले संयुक्त विज्ञप्ती प्रकाशित गरी कानुनीराज, प्रजातान्त्रिक मूल्य मान्यता र अदालतको गरिमा एवं मान मर्यादालाई ख्याल गरी अविलम्ब नगरपालिकाको दैनिक कामकाज फुस्रेटारबाट सञ्चालन गर्न माग गर्नुभएको हो ।

    भानु नगरपालिकाले फुस्रेटारबाट कार्यालय सारेर भन्सारस्थित शहरी विकास आयोजनाको भवनबाट सेवा प्रवाह गरिरहेको छ । उक्त निर्णय विरुद्ध वडाध्यक्ष अर्जुनबहादुर केसी लगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

    उक्त रिटमा सर्वोच्च अदालतले दोस्रो अन्तरिम आदेश जारी गर्दै अर्को निर्णय नभएसम्म कार्यालय फुस्रेटारमा कायम गर्न आदेश दिएको थियो ।

    नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । वडा नम्बर २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीहरुलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने स्थानीयको भनाई छ ।

    अहिले कायम रहेको वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय गत असोज १ गतेबाट वडा नमबर १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट तीन वर्षको लागि भाडामा लिएर काम कारवाही शुरु भएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।

    विसं २०७६ माघ २३ गते बिना छलफल नगरपालिकाको केन्द्र फुस्रेटारबाट भन्सार सार्ने निर्णय गरिएको सङ्घर्षको समितिको आरोप छ।