७३ वर्षमा मायाले पाउनुभयाे घरमै नागरिकता (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    ७३ वर्षमा मायाले पाउनुभयाे घरमै नागरिकता (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७७, शनिबार

    दुलेगाैडा :तनहुँकाे देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाउनुभएकाे छ आफन्तविहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ वर्षीया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता वितरण गर्नुभएकाे हाे ।

    “‘उहाँको आफन्ती कोही पनि रैनछन् । आफू बोल्न पनि नसक्ने, गाउँ छोडेर अन्त जान नमान्ने भएकाले अहिलेसम्म नागरिकता लिनु भएको रैनछ । स्थानीय गङ्गासि‌ंह विकले पहल गरेपछि घरमै पुगेर नागरिकता वितरण गरेका छौँ,” उहाँले भन्नुभयाे ।

    वडा कार्यालयले गुरुङ त्यहीँ जन्मिएको र नेपाली नागरिक हो भन्ने प्रमाणित गरेर पठाएपछि गाउँपालिकाले गरेको अनुरोधको आधारमा गुरुङलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयाे । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार गुरुङलाई २००४ भदौ ३० गते जन्ममिति राखेर नागरिकता प्रदान गरिएको छ ।

    २०७२ को भुकम्पले घर भत्काएपछि गुरुङ लाभग्राहीको सुचीमा परेपनि नागरिकता नहुँदा घर पुननिर्माणको सम्झौता हुन सकेको थिएन । दयनीय झुप्रोमा उहाँ ओत लाग्दै आउनुभएकाे छ । अब गुरुङको घर राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै बनाईदिने भएको छ । नाल्बुङ टोल विकास संस्थाका अध्यक्ष समेत रहेका गंगासिं विकका अनुसार भूकम्पले घर भत्काएपछि उहाँ फुसले छाएको झुप्रोमा बस्दै आउनुभएकाे थियाे ।

    ३ वर्ष अगाडी उक्त झुप्रोमा पनि आगलागी भयो । हाल स्थानीय कालिका आधारभूत विद्यालयले दिएको पुराना काठ र जस्ताले छाएको टहरामा बस्दै आउनुभएकाे छ उहाँ । “भूकम्पले घर भत्काएपछि पूर्ण क्षतिग्रस्त लाभग्राहीको सुचीमा पर्नुभएको छ । नागरिकता नभएपछि घर पुननिर्माणको सम्झौता गर्न मिलेन । नागरिकता भयो भने घर पनि बन्ने, जीवनयापनका लागि सामाजिक सुरक्षाभत्ताले केही सहज हुन्छ भनेर पहल गरेका थियौँ । सफल पनि भएका छौँ’, विकले भन्नुभयाे । उहाँका अनुसार ती वृद्धा छिमेकी एक जना भन्दा अरुसँग नजिक छैनन् । अपरिचित व्यक्तिले दिएको लत्ताकपडा र खानेकुरा पनि नलिने उहाँले सुनाउनुभयाे ।