तनहुँ : सेनवंशी राजाले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचुर सम्भावना भएरपनि प्रचारप्रसार नहुँदा तनहुँसुर ओझेलमा परेको हो ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुने स्थानीयवासी बालकृष्ण श्रेष्ठले बताउनुभयो । “तनहुँसुर ऐतिहासिक महत्व बोकेको ठाउँ हो, तर यो ओझेलमा पर्दा स्थानीयवासीले फाइदा लिन सकेका छैनन्,” उहाँले भन्नुभयो, “यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्छ ।”
तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।
ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक रुपमा धनी भएर पनि यस क्षेत्र ओझेलमा परेको स्थानीयवासी कोषबहादुर थापाले बताउनुभयो । “तनहुँसुरको आफ्नै छुट्टै महत्व र विशेषता छ, तर यस ठाउँ ओझेलमा पर्दै गएको छ,” उहाँले भन्नुभयो, “प्रचारप्रसार गर्न सकिए यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनेमा द्विविधा छैन ।”
तनहुँसुरको सेनवंशी राजाको दरवारको भग्नावशेष अवस्थामा छ । सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्वीचौतारा पनि संरक्षणको अभावमा रहेको स्थानीयवासी रानाको गुनासो छ । “गद्वी चौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास छ,” थापाले भन्नुभयो, “तर अहिले गद्दी चौताराको संरक्षण हुन सकेको छैन ।”
विसं २०२५ सालसम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौ लगायतका ठाउँमा बसाई सरेर गएका छन् ।
तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिकाले पहल थालेको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको ६ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु दश करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ । वडाध्यक्ष खड्काका अनुसार हाल सडक फराकिलो, नाला निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । “तनहुँसुर ऐतिहासिक स्थल भएकाले यसको प्रचारप्रसारमा जुटेका छौ,” खड्काले भन्नुभयो ।
पृथ्वीराजमार्गस्थित घाँसीकुवाबाट १५ किलोमिटरको दूरीमा अवस्थित तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनार लगायत अवलोकन गर्न सकिन्छ । तनहुँसुरमा व्यास नगरपालिकाले रु ३५ लाखको लागतमा सहिद पार्क निर्माण गरेको छ । विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका छ जना सहिद भएका थिए ।
तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । केही समय अगाडी पुरातत्व विभागले तनहुँसुर दरबारको उत्खनन् गरेको थियो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।
उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाई धर्माङ्गद सेनले ल म जुङ्ग भनेकोले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ ।
तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।
तनहुँसुर विशेषतः नेवार र मगरहरुको बस्ती बसेको स्थान हो । तनहुँसुरका प्रशासक भृङ्गीसेनले मणिमुकुन्द सेनको मृत्युपरोणान्त तनहुँसुरमा स्वतन्त्र ठकु¥याइँ स्थापना गरेको र त्यही बेलादेखि हिन्दु संस्कृति परम्परा अनुसार तनहुँ कालिकामाईको पूजा आजा र बली दिने परम्परातको शुरुवात भएको भनाई छ ।