तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्बन्धित कार्यालयको समन्वय र बिना जानकारी तनहुँका दुई वटा पुल उद्घाटन गरिएकामा आपत्ति जनाउनुभएको छ । बिहीबार प्रेस विज्ञप्तीमार्फत् मन्त्री गुरुङले व्यास नगरपालिका र ऋषिङ जोड्ने सुढे र व्यास नगरपालिकाको बुल्दीखोलामाथि निर्माण भएको पुलको सम्बन्धित कार्यालयलाई जानकारी नदिई काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत् उद्घाटन गराइएकामा आपत्ति जनाउनुभएको हो ।
सम्बन्धित कार्यालयसँग जानकारी र समन्वय नगरी अपारदर्शी ढङ्गले राजनीतिक बल मिच्याइका आधारमा पुलको उद्घाटन गर्दै हिँड्नु भनेको गलत प्रक्रिया मात्रै नभई आफैमा खेदजनक विषय रहेको मन्त्री गुरुङले बताउनुभयो । मन्त्री गुरुङले आगामी दिनमा यस्ता काम कहीँकतैबाट पनि नहोस् भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।
“सम्बन्धित सरकार र कार्यालयसँगको समन्वय नै नगरी नेपाली काङ्ग्रेस पार्टीको दलबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृत रुपमा दुईवटा पुल उद्घाटन गर्नु भनेको आफैमा हास्यास्पद र लज्जास्पद कुरा हो,” विज्ञप्तीमा भनिएको छ, “अझ यसलाई राजनीतिक प्रतिष्ठा बनाउनु भनेको तनहुँका सिङ्गो नेपाली काङ्ग्रेस र यसका नेता कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपूर्ण क्रियाकलाप बाहेक अरु केही होइन ।”
सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्तर्गत निर्माण हुने विकास निर्माणका सबै कार्यक्रम र परियोजनाको स्वामित्व सम्बन्धित सरकार र त्यस अन्तर्गतका कार्यालय मातहत रहने विज्ञप्तीमा उल्लेख छ ।
तनहँुको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–३ जोड्ने सुढेस्थित सेतीनदीमाथिको पुल विसं २०७१ असार २९ गते सम्झौता भई २०७७ वैशाख ३० गते सम्पन्न भएको हो । एड्भेन्चर कम्पनी प्रालि भरतपुरले ठेक्का पाएको उक्त पुलको लागत रु १० करोड ७१ लाख २ सय ७८ रहेको छ । सङ्घीय सरकारको बजेट र कार्यक्रम अन्तर्गत सडक डिभिजन कार्यालय मार्फत् पुल निर्माण सम्पन्न भएको हो ।
व्यास नगरपालिका–१, १० र ११ जोड्ने दुम्सीचौर सडक अन्तर्गत बुल्दीखोला सडक साविक जिल्ला प्राविधिक कार्यालय तनहुँबाट सम्झौतामा भएकामा हाल गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व बाट निर्माण सम्पन्न भएको हो । उक्त पुल विसं २०७२ फागुन १३ गते सम्झौता भई २०७५ कात्तिक ९ गते सम्पन्न भएको हो ।