दुलेगौडा : शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका दुई टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेका छन् । शुक्लागण्डकी–३ को टार टोल विकास संस्था र भुलभुले बाराही टोल विकास संस्थाले शुक्रबार संयुक्त रुपमा संरक्षण केन्द्रमा आश्रित गाई गोरुलाई ६० भारी पराल र २ बोरा नुन सहयोग गरेका हुन् ।
धार्मिक रुपमा समेत पुजिने राष्ट्रिय जनावर गाईको सेवा गर्न पाउनु भाग्यको कुरा भएको टार टोल विकास संस्थाका सदस्य तथा भुलभुले बाराही भजन समुहका अध्यक्ष जिवनाथ गर्र्तौलाले बताउनुभयो ।
‘गाईको सिङमा, खुरमा, रौं–रौंमा ईश्वरको वास हुन्छ । गौमाता भनेकी हाम्री आमा जस्तै हुन् । सके त हामीले घरमा नै पाल्नुपर्ने हो । घरमा पाल्न नसकेपनि संरक्षण केन्द्रमा आएर आहारा सघाएका हौँ’, उहॉले भन्नुभयो ।
शुक्लागण्डकी नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा हाल १ सय ३० भन्दा बढी गाई र ३ वटा गोरु छन् । नगरमा छाडा चौपायको संख्या बढ्दै जादाँ सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि २०७५ बैशाख देखि शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्र स्थापना गरेको हो । केन्द्रमा पशुचौपायको हेरचाहका लागि नगरपालिकाले २ जना सहयोगी कर्मचारी राखेको छ ।
संरक्षण केन्द्रका कोषाध्यक्ष भिष्म पौडेलले हिउँद महिनामा चरन क्षेत्रमा घाँस सुक्ने भएकाले सहयोगीले दिएको पराल, दाना, चोक्कर, नुन लगायतका सामाग्रीले थोरै भएपनि सहज भएको बताउनुभयो ।
बुढी गाई गिद्दको नजरमा
केन्द्रमा रहेका धेरैजसो गाई अशक्त अवस्थाका छन् । अति कमजोर अवस्थाका गाईहरुलाई जिउँदै गिद्वले ठुङगेर मारिदिने गरेको पनि पौडेलले बताउनुभयो । बर्षौदेखि स्याहार नपाएका, दुध दिन छाडी थारा भएका, बुढा भएका गाईहरु नै संरक्षण केन्द्रमा ल्याईने गरेकाले गाईहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा परिरहेको पौडेलको भनाई छ ।
‘मर्नै लागेका गाई गाडीमा ल्याएर छोड्छन्, कतिले घिच्याउँदै ल्याएर छोड्छन्, त्यस्ता गाई गिद्दको नजरमा पर्छन्, पौडेलले सुनाउनुभयो । कमजोर गाईहरुलाई गिद्दले जिउँदै सताउने गरेको भएपनि मरेका गाईहरुको व्यवस्थापनमा समेत गिद्द सहयोगी बनिरहेको पौडेलको भनाई छ । मरेका गाई घिसार्दै केही पर सेती नदीको भिरमा फालिदिने र गिद्दले खाने गरेको उहाँले बताउनुभयो । “शुरु शुरुमा खाल्डा खनेर गाड्ने गरेका थियौं, ढुङ्गै ढुङ्गा भएको जमिन भएकाले कर्मचारीले खाल्डो खन्न नसक्ने, डोजर भनेको समयमा नपाईने भएकाले गाईका शव गिद्दकै आहारा हुने गरेका छन्” उहाँले सुनाउनुभयो ।
समय समयमा समितिको बैठक नबस्दा केन्द्रलाई थप व्यवस्थित बनाउन नसकिएको कोषध्यक्ष पौडेलले गुनासो गर्नुभयो । “केन्द्र भित्र शौचालय छैन, गोठ अप¥र्याप्त छ” पौडेलले भन्नुभयो प्रशस्त जग्गा बाकिँ भएकाले ब्लक छुट्याएर घाँस खेती गर्न पाए हुन्थ्यो।”
छाडा गाई गोरुले बारम्बार खेती खाईदिदाँ हैरान परेका स्थानीय संरक्षण केन्द्र बनेपछि खुशी भएका छन् । गौ संरक्षण केन्द्र बनेपछि छाडा चौपायका कारण नगरक्षेत्रमा हुने सडक दुर्घटना घटेको केन्द्रका संयोजक गिता महतले बताउनुभयो ।