सरकारविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसको आज विरोध प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसको आज विरोध प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७७, सोमबार

    काठमाडौं : प्रमुख प्रतिपक्षी दलको भूमिका निरीह भएको भन्ने आरोप खेप्दै आएको नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा ओर्लिएको छ। पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लामा हुने विरोध र्‍याली तथा सभामा सहभागी हुने भएका हुन्। कोरोना संक्रमणपछि पार्टीको औपचारिक कार्यक्रममा नेताहरु जिल्ला निस्केको पहिलोपटक हो।

    संक्रमणको कहरमा कांग्रेसका औपचारिक कार्यक्रम प्रभावित हुँदै आएका थिए। सोमबार हुने विरोध कार्यक्रम सांकेतिक भएको जनाइएको छ। सरकारलाई सडक र सदनबाट दबाब पैदा गर्ने पहिलो कार्यक्रम भएको समेत कांग्रेसले जनाएको छ। ७७ वटै जिल्लामा एकसाथ सरकार विरुद्ध उत्रनुको कारण सरकारी अर्कमष्यता र सर्वसत्तावाद विरुद्ध भएको कांग्रेसले जनाएको छ। 

    प्रतिपक्षको भूमिकालाई कमजोरीको रुपमा सरकारले बुझेको सरकारलाई सडक र सदनबाट दबाब दिने कांग्रेसको रणनीति छ। ‘शालीन, संवादमैत्री र जिम्मेवार भूमिका कांग्रेसले निभाउंदै आयो,’ वर्तमान सरकारले कांग्रेसप्रति गरेको व्यवहारबारे भनिएको छ,‘वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो।’

    सडकमा कांग्रेसले भ्रष्टाचार,सरकारी असफलता, बलत्कार लगायत जनजिविकाको मुद्धा उठाउने भएको छ। सरकारप्रति जनताको बढ्दो वितृष्णालाई सम्बोधन गर्न संयमित भएर शसक्त ढंगले प्रस्तुत हुने कांग्रेसले जनाएको छ। 

    कोरोनाको नियन्त्रणको नाममा भएको अनियमितता र अध्यादेशको मुद्दा पनि कांग्रेसले सडकमा उठाउने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध प्रशासनले तनहुँमा गरेको दुर्व्यवहार तथा पक्राउको पनि विरोध गरिने भएको छ। 

    को कहाँ खटिए?
    सरकारविरुद्ध कांग्रेसले शीर्ष तहका नेतालाई सडकमा उतार्ने भएको छ। पदाधिकारी र पूर्व पदाधिकारीसहित सार्वजनिक कार्यक्रममा प्रभाव पार्ने नेतालाई र्‍याली तथा सम्बोधनको नेतृत्व गर्न खटाइएको छ। पार्टीले दिएको निर्देशन बमोजिम सबै नेताहरु तोकिएको स्थानमा पुगिसकेका छन्। 

    सरकार विरुद्धको प्रदर्शनमा वागमती प्रदेशको राजधानी हेटौंडामा सभापति शेरबहादुर देउवाले नेतृत्व गर्नेछन्। वरिष्ठ नेता रामचन्द्र पौडेललाई काठमाडौंमा खटाइएको छ। उपसभापति विमलेन्द्र निधि भक्तपुरको विरोध सभामा सहभागी हुनेछन्। महामन्त्री शशांक कोइरालाले विराटनगर तथा कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध प्रदर्शनमा सहभागी हुने भएका छन्। 

     सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेमा सहभागी हुने गरि जिम्मेवारी दिइएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्। नेताहरू रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरा र चित्रलेखा यादव सप्तरीमा पुगेका छन्। गगन थापाले कैलालीको विरोध र्‍यालीको अगुवाई गर्नेछन् भने विरोध र्‍याली पछिको सभालाई सम्वोधन गर्नेछन्। केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल कञ्चनपुर र एनपी साउदलाई अछाम पठाइएको छ।