पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्तिविरुद्ध एकतावद्ध भएर उभिन प्रचण्डको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्तिविरुद्ध एकतावद्ध भएर उभिन प्रचण्डको आग्रह

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    काठमाडाै : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र कम्युनिस्ट आन्दोलनका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आग्रह गर्नुभएकाे छ ।

    सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतावद्ध रहेको र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपार्ने बताउनुभयाे ।

    ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु’, प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    उहाँले नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार बताउनुभयाे ।

    ‘हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन’, अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गर्नुभएकाे थियाे ।