तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा बुधबार टिप्परको ठक्करबाट तीन जना घाइते भएका छन् । डुम्रेबाट दमौली आउँदै गरेको ना४ख ५७११ नम्बरको टिप्परले विपरित दिशाबाट जॉदै गरेको ग१८प ५८९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उछिट्टिएर ग१८प ४०१४ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा ग१८प ५८९६ नम्बरको मोटरसाइकल चालक पोखरा-१४ का २२ वर्षीय विशाल श्रेष्ठ, सवार सोही ठाउँकी २० वर्षीया सीमा भुजेल र ग१८प ४०१४ नम्बरको मोटरसाइकल चालक व्यास-१२ का ५० वर्षीय भिमनिधि पन्त घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको छ।