व्यासका नगरप्रमुखको आग्रह : तनहुँसुरका वासिन्दा गाउँ फर्किनुहोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका नगरप्रमुखको आग्रह : तनहुँसुरका वासिन्दा गाउँ फर्किनुहोस्

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७७, शुक्रबार

    तनहुँ : व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुरबाट दमौली आएर बसेकाहरुलाई गाउँ फर्किन आग्रह गर्नुभएको छ । उर्जा तथा वातावरण नेपालको आयोजना, व्यास नगरपालिकाको संयोजन र पुरातत्व विभागको सहयोगमा शुक्रबार आयोजित पुरातात्विक सम्पदाको महत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख न्यौपानेले तनहुँसुरको विकासका लागि अब दमौली झरेकाहरु गाउँ फर्किने बेला आएको बताउनुभयो ।

    तनहुँसुरको ऐतिहासिक पक्षलाई ध्यानमा राखेर विकास अभियान सञ्चालन अगाडी बढेकाले त्यहाँबाट बसाइ सरेर दमौली झरेकाहरु गाउँ फर्किएर विकास अभियानमा सहभागी हुन नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभएको हो । “तनहुँसुरको विकासका लागि एकदमै लगनशील भएर लागेका छौ, तनहुँसुर पुग्ने बाटो कालोपत्रेका लागि काम शुरु भएको छ,” उहाँले भन्नुभयो ।

    संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले खण्डहर बनेको तनहुँसुर बिस्तारै पहिलाकै अवस्थामा फर्किन लागेकोले यहाँको विकासका लागि स्थानीयवासी नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले पुरातात्विक सम्पदाको सम्बद्र्धन र संरक्षणका लागि नगरपालिकाको सदैव सहयोग रहने बताउनुभयो ।

    तनहुँसुर दमौली सम्पर्क समाजका अध्यक्ष वृषराज श्रेष्ठले तनहुँसुरको विकासका लागि दमौली झरेका वासिन्दा जुट्न लागेको बताउँदै भग्नावशेष भएका घरहरु पुर्ननिर्माणको अभियान शुरु गरिने बताउनुभयो ।

    उक्त कार्यक्रममा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले कृषि र वातावरणसँग जोडेर तनहुँसुरको पर्यटन प्रबद्र्धन गर्न लागिएको जानकारी दिनुभयो । सो अवसरमा पुरातत्व विभागका अधिकृत मन्जुसिंह भण्डारी थापाले तनहुँसुरको ऐतिहासिक महत्व र पुरातत्व विभागले तनहुँसुरमा गरेका कामहरुको बारेमा जानकारी गराउनुभयो ।