तनहुँ : ऐतिहासिक एवं पुरातात्विक महत्वको तनहुँसुरको पर्यटनलाई कृषि र वातावरणसँग जोडेर प्रबद्र्धन गर्ने अभियान शुरु गरिएको छ । सम्पदा नेपालको पहलमा तनहुँसुरको पर्यटन विकासका लागि कृषि र वातावरणलाई जोडेर अगाडी बढाउन अभियान शुरु गरिएको हो ।
ऐतिहासिक महत्व बोकेको तनहुँसुरको पर्यटन प्रबद्र्धनका लागि ‘एग्रो टुरिजम’ गतिविधि सञ्चालन गर्न लागिएको सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो । विगत केही वर्षयता खण्डहर बन्दै गएको तनहुँसुरमा पछिल्ला केही समयमा पर्यटकको चहलपहल शुरु भएको छ ।
व्यास नगरपालिकाको सहयोगमा सम्पदा नेपालले तनहुँसुरमा सामुदायिक घरबास शुभारम्भ गरेको छ । गत मङ्सिर ८ गतेदेखि १३ गतेसम्म तनहुँसुर सामुदायिक घरबास सञ्चालकलाई तालिम दिइएको छ । तालिमपश्चात् यहाँका स्थानीयवासी घरबास सञ्चालनका लागि अग्रसर भएका छन् । उक्त घरबासमा ८ घरधुरी आबद्ध छन् ।
यहाँका स्थानीयवासी सिलिङे फूलको रुखदेखि धार्नी चौतारीसम्म सिढीबाटो र वृक्षरोपण गर्ने अभियानमा जुटेको घरबास व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घरबासका अलवा कृषि र पशुपंक्षी समूह निर्माण तथा तालिम कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
सम्पदा नेपालका अध्यक्ष गुरुङ व्यास नगरपालिकासँग समन्वय गरेर कृषि तथा पशुपंक्षी सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने बताउनुहुन्छ । साथै तनहुँसुर ‘इको ट्रेक’ विकास गर्ने लक्ष्य छ । चमेरे गुफा मूलपानी–भगवतीपानी मन्दिरहुँदै देवस्थल सामुदायिक घरबास भवनसम्म नक्साङ्कन सहित डिपिआर निर्माण गरिनेछ ।
तनहुँसुरमा हाल नेपाल सरकारको सहयोगमा सडक कालोपत्रे, तनहुँ कालिका मन्दिर निर्माण, पुरातात्विक सम्पदा संरक्षण एवं विकास, सामुदायिक भवन तथा घरबास पूर्वाधार निर्माण, इन्टरनेट, सडकबत्ती जडान, शिक्षा, स्वास्थ्य, वन तथा कृषि सम्बन्धी कार्यक्रम सञ्चालित छ ।
तनहुँसुरको थप प्रबद्र्धन र प्रचारप्रसारका लागि आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म पर्यटन तथा वातावरण मेला आयोजना हुँदैछ । उक्त अवसरमा तनहुँसुरको पुरातात्विक सम्पदा संरक्षण सम्बन्धी वक्तृत्वकला, खाना महोत्सव, होमस्टे मार्ट, सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुरको ऐतिहासिक पक्षलाई ध्यानमा राखेर विकास अभियान सञ्चालन अगाडी बढेकाले त्यहाँबाट बसाइ सरेर दमौली झरेकाहरु गाउँ फर्किएर विकास अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । “तनहुँसुरको विकासका लागि एकदमै लगनशील भएर लागेका छौ, तनहुँसुर पुग्ने बाटो कालोपत्रेका लागि काम शुरु भएको छ । त्यहाँका वासिन्दा अब पुनः गाउँ फर्किने बेला आएको छ ।” उहाँले भन्नुभयो ।
नेपाल एकीकरण पूर्व तनहुँसुर सेनवंशी राजाहरुको राज्य थियो । यस राज्यको ऐतिहासिक विवेचना गर्दा लिच्छविकालमा लिच्छवि राज्य क्षेत्रभित्र परेको देखिन्छ । पुरातत्व विभागकी अधिकृत मन्जुसिंह भण्डारीले यस ठाउँमा इसाको १६ औं शताब्दीदेखि सेनवंशी राजाहरुले राज्य गरेको ऐतिहासिक तथ्यहरु उपलब्ध रहेको बताउनुभयो । “यस वंशका राजाहरुले तनहुँमा राज्य गर्ने क्रममा तनहुँसुरलाई राजधानी कायम गरी राजदरबार र अन्य सम्पदाहरुको निर्माण गर्न लगाएका ऐतिहासिक प्रमाण एवं उक्त क्षेत्रमा रहेका भग्नावशेषहरुबाट स्पष्ट हुन्छ,” उहाँले भन्नुभयो ।
भग्नावशेषको रुपमा तनहुँसुर दरबार क्षेत्रमा अध्ययन अनुसन्धान गर्न स्थानीयहरुबाट अनुरोध भएपछि पुरातत्व विभागले दुई वर्ष उत्खनन्को कार्य गरेको थियो भने एक वर्ष उत्खनन्को क्रममा प्राप्त भएका संरचनाहरुको संरक्षण गर्ने कार्य गरेको थियो ।
उत्खनन्बाट इट्टा विछ्याइएको आँगन र पानीको निकासका लागि बनाइएको कुलेसो, रानीको नुहाउने स्थल, इनार भेटिएको थियो । साथै गढीमा गरिएको उत्खनन्बाट ती क्षेत्रको संरक्षणका लागि योजना बनाउन महत्वपूर्ण योगदान पुग्न सक्ने देखिएको पुरातत्व विभागकी अधिकृत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्खनन्को क्रममा प्राप्त भएका इट्टा, झिंगटी, कलश, पाला, दुईवटा सिलौटा, आधा टुटेकोा चुरा, त्रिभुवनको पालाको पाँच पैसालाई पनि उपलब्धिको रुपमा लिइएको छ ।
विसं १५७५ देखि १६१० सम्म मणि मुकुन्दसेनले प्रथम शासकका रुपमा तनहुँसुरमा शासन गरेका थिए । यिनले तनहुँ राज्यलाई विस्तार गरी विशाल राज्यमा परिणत गरेका थिए । विशाल राज्यमा परिणत पश्चात् राज्य विभाजन गरी अंशवण्डा गर्ने क्रममा छोरा भृङ्गीसेनको भागमा परेको थियो र यी राजाले आफ्नो राज्यको राजधानी तनहुँसुरलाई कायम गरेका थिए । राज्य सञ्चालनका क्रममा तनहुँ दरबार एवं विभिन्न संरचना निर्माण लगायत राज्यको आर्थिक विकासका लागि बन्दीपुरलाई व्यापारिक केन्द्रका रुपमा कायम गरेका थिए । तनहुँसुरमा दरबार, महादेव र विष्णु मन्दिर, खड्ग देवताको मन्दिर छ ।
तस्वीर : हरिसिं गुरुङ