धनगढीः नेकपा (ओली समूह) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्व, देशद्रोही र विदेशीको इशारामा काम गर्ने तत्वहरुलाई गाउँगाउँबाट ठेगान लगाउन अनुरोध गर्नु भएको छ । सुदूरपश्चिम स्तरीय आमसभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा त्यस्ता तत्वहरुलाई भोट नदिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
नेकपा (प्रचण्ड–माधव) समूहमाथि व्यंग्य गर्दै उहाँले भन्नुभयो, “तपाइँहरुले केही गर्नु पर्दैन भोट नदिए पुग्छ । देशका लागि लड्ने, मर्न तयार हुने, विकासका लागि मरिमेट्नेलाई जिताउनुहोस् । मैले हस्ताक्षर गरेर उठाएको उम्मेदवारलाई जिताउनुहोस्, त्यसको जिम्मा म लिन्छु, देश विकासको जिम्मा म लिन्छु, देशको नेतृत्व म लिन्छु ।”
अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने जिकिर गर्दै भन्नुभयो, “विघटित संसद पुनस्र्थापना गर्ने कुरा संविधान, व्यवहारिक, कानुन, अन्तर्राष्ट्रिय प्रचलन, मर्यादा कुनै हिसाबले पनि सम्भव छैन । अब चुनावबाट मात्र नयाँ प्रतिनिधिसभा आउँछ ।”
उहाँले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्नु कोरा राजनीतिक तर्क मात्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसदले कामै गर्न नसक्ने अवस्थामा ताजा जनादेशमा जानुको विकल्प आफूसँग नरहेको र ६४ प्रतिशतको सर्वसम्मत नेता भएकाले संसद विघटन जायज भएको दाबी गर्नुभयो ।
चुनाव हुनै सक्दैन, केपी ओलीले चुनाव गर्दैन भनेर फिँजाइएको हल्ला निराधार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म दोहोर्याएर, तेहेर्याएर भन्दैछु चुनाव वैशाख १७ र २७ गते नै हुन्छ । निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेको छ ।”
उहाँले समर्थक, कार्यकर्तालाई चुनाव हुने कुरामा ढुक्क हुन आश्वस्त बनाउँदै चुनावको तयारीमा लाग्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यस चुनावमा खराब तत्वहरुलाई तपाइँहरुले तलैबाट ठेगान लगाउनुहोस्, तिनीहरु माथि गए हैरान बनाउँछन्, दुःख दिन्छन् ।”
प्रचण्ड–माधव समूहका कृयाकलापबाट आफू निकै दुःखी भएको जनाउँदै प्रधानमन्त्री ओलीले व्यंग्यमिश्रित शब्दमा भन्नुभयो, “भगौडाहरुका कुराहरु सुन्नु भएको होला, उनीहरुका कुराहरु सुन्नु पर्दैन । केन्द्रीय कमिटीमा नआएर भागेका छन्, हामी यहाँ छौं भनेर सडकमा बसेका छन् । सडकमा बसेर, गाली गलौज गरेर, पत्रपत्रिकामा लेखाएर, अश्लिल नाराहरु लगाएका छन् । हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, दन्त बजान गर्ने हामीलाई फुर्सद छैन ।”